इटहरी । सप्तकोशी नदीको तीव्र कटानका कारण जोखिममा परेका बराहक्षेत्र नगरपालिका–९ स्थित श्रीलंका टप्पुका सात घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

सप्तकोशी नदीले निरन्तर कटान गर्न थालेपछि अति जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्थासहित स्थानान्तरण गरिएको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले जानकारी दिए। श्रीलंका टप्पुको चिलिया र गरैयालगायतका क्षेत्रमा सप्तकोशी नदीले तीव्र कटान गरिरहेको छ। कटान नियन्त्रणका लागि बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकासँगै स्थानीयवासीको समन्वयमा अस्थायी तटबन्ध निर्माण भइरहेको नगरप्रमुख कार्कीले बताए। कटान नियन्त्रणका लागि गत वर्ष निर्माण गरिएका करिब १८ वटा स्परमध्ये नौवटा पूर्णरूपमा क्षतिग्रस्त भइसकेका छन् भने बाँकी स्परसमेत नदीको कटानमा पर्दै गएको नगरप्रमुख कार्कीले बताए। अहिले पनि श्रीलंका टापु र चिलिया टापुमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा बराहक्षेत्र र बेलका नगरपालिकाको समन्वयमा श्रमदानमार्फत कटान रोक्ने प्रयास भइरहेको छ। बाँस गाड्ने, नाइलनको डोरीले बाँध्ने तथा बालुवा भरिएका बोरा राख्नेलगायतका उपाय अपनाइएको छ । सप्तकोशी नदीले धार परिवर्तन गरेर बनाएको चिलिया टापुमा अहिले पनि ठूलो संख्यामा मानिसको बसोबास छ। बराहक्षेत्र नगरपालिका–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–१, २ र ३ मा फैलिएको यस क्षेत्रमा हरेक वर्ष बर्खायाममा नदीको बहाव बढेसँगै बाढी र कटानको जोखिम बढ्ने गरेको छ।

यस वर्ष चिलिया र गरैया क्षेत्रमा नदीले तीव्र कटान थालेपछि करिब ६–७ सय घरपरिवार प्रत्यक्ष जोखिममा रहेको नगरप्रमुख कार्कीले बताए। सप्तकोशीले विस्तारै धार पश्चिमतर्फ मोड्ने संकेत देखिएकाले बाक्लो मानव बस्ती रहेका क्षेत्रमा जोखिम झन् बढेको उनको भनाइ छ। हरेक वर्ष बर्खायाममा सप्तकोशीको बाढीले श्रीलंका टप्पुको बस्ती डुबानमा पार्नुका साथै खेतीयोग्य जमिन कटान गरेर बगाउने गरेको छ। वर्षेनी नदीले जमिन तथा बस्ती कटान गर्दै जोखिम बढाए पनि यसको दीर्घकालीन समाधान हुन सकेको छैन। विशेष गरी बराहक्षेत्र नगरपालिका–६ र ९ स्थित चिलिया टापु, गरैया तथा श्रीलंका टप्पुका बासिन्दा वर्षेनी बाढी र कटानको दोहोरो जोखिममा पर्दै आएका छन्।