इटहरी । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका –३ को वडा कार्यालय भवन पहिरोले पुरिएको छ । पछिल्लो केही दिन यता परेको लगातारको वर्षापछि आएको पहिरोले वडा कार्यालय भवनमा बस्न नमिल्ने गरी क्षति गरेको छ ।
वडा अध्यक्ष लाक्पा गेलु शेर्पाका अनुसार वडा कार्यालयसँगै रहेको अस्थायी प्रहरी चौकीसमेत जोखिममा परेपछि तत्कालका लागि सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयो । पहिरोका कारण वडा कार्यालय तथा प्रहरी चौकी रहेको क्षेत्र थप जोखिमपूर्ण बनेपछि सम्भावित क्षति रोक्न स्थानान्तरण गरिएको हो ।
वडा कार्यालय भवनमा पहिरोले गरेको क्षतिको विवरण तथा जोखिम क्षेत्रको अवस्थाबारे थप मूल्याङ्कन भइरहेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । स्थानीय तहले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन तथा वर्षाको बेला पहिरोको सम्भावना भएको स्थानमा अनावश्यक आवत–जावत नगर्न आग्रह गरेको छ ।


