इटहरी। कोशी प्रदेशसभाको बुधबार बसेको बैठममा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेस भएको छ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दा सभामुख अम्बरबहादुर विष्टले स्वीकृत भएको घोषणा गरेपछि विधेयक सदनमा पेस भएको हो। बैठकमा बोल्दै कोशी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले विशेष समयमा नवनियुक्त मन्त्रीहरुलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए।
नेता थापाले सरकार पटकपटकको परिवर्तनले गर्दा जनतामा नैराश्यता आएको टिप्पणी गर्दै प्रतिपक्ष भनेको विरोध गर्ने मात्र होइन असल काममा सहयोग गर्ने पनि भएको उल्लेख गरे। उनले पछिल्लो समयमा बनेको गठबन्धनले गर्दा नेपाली कांग्रेस कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रमुख प्रतिपक्षको भूमिकामा रही सरकारलाई सहयोग गर्ने वचन दिँदै सरकारले जनताको हितमा प्रभावकारी ढङ्गले काम गर्नुपर्ने धारणा राखे।
नेता थापाले अहिले जनता ग्यास अभाव र महँगीको मारमा परेकाले तत्काल सरकारले प्रदेश जनतालाई राहत हुने किसिमको काम गर्न सुझाव दिँदै आर्थिक वर्ष २०८३र८४ को सार्वजनिक भएको बजेटलाई सन्तुलित बनाउनुपर्नेमा जोड दिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमराज थाम्सुहाङले जनताको अविभावक सरकारले जनताकै हितमा काम गर्नुपर्ने बताए। उनले सरकारले शिक्षा र स्वास्थ्यका क्षेत्रमा देखिएका अन्यौलतालाई छिनोफानो गर्नुपर्ने बताए। शून्य समयमा कोशी प्रदेशसभाका सदस्य सदानन्द मण्डल, गोपालबहादुर विश्वकर्मा, शोभा चेम्जोङ, कमला दर्नाल, गीतारानी महतो र राजेन्द्र कार्कीले प्रदेशको समसामयिक विषयमा धारणा राखेका थिए।


