इटहरी स् ट्याक्टर दुर्घटनामा परेका एक चालक दुई घण्टाभन्दा बढी समय ट्याक्टर र गोलिया काठमुनि च्यापिएर छटपटाइरहे ।
प्रहरी र स्थानीय घटनास्थलमा पुगेर उद्धारको प्रयास पनि भइरहेको थियो । तर, भारी ट्याक्टर र काठ तत्काल उठाउने उपकरण नपुग्दा उनको समयमै उद्धार हुन सकेन । मोरङको कटहरी गाउँपालिका–६ सनिहाटस्थित भित्री सडकमा शुक्रबार दिउँसो भएको दुर्घटनामा धनपालथान गाउँपालिका–१ का ५५ वर्षीय सदानन्द साहको मृत्यु भयो । दुर्घटना भएको करिब दुई घण्टापछि ट्याक्टर उठाएर उनलाई बाहिर निकाल्दा उनको मृत्यु भइसकेको थियो।
थलाहाबाट नयाँ बजारतर्फ जाँदै गरेको को २ त ५७९६ नम्बरको गोलिया काठ लोड गरिएको ट्याक्टर दिउँसो करिब ३ः१० बजे अनियन्त्रित भएर पल्टिएको थियो। हिलो भएको सडकमा नहर कटाउने क्रममा ट्याक्टर पल्टिएको स्थानीयको भनाइ छ। ट्याक्टर पल्टिएपछि भाग्न खोजेका साह त्यसमै लोड गरिएका गोलिया काठ र ट्याक्टरको भारमुनि परेका थिए। दुर्घटनालगत्तै स्थानीय र प्रहरी उद्धारमा जुटे पनि भारी काठ पन्छाउने र ट्याक्टर उठाउने उपयुक्त उपकरण नहुँदा उद्धार लम्बिएको प्रत्यक्षदर्शीले बताएका छन्।
मोरङका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार प्रहरी चौकी थलाहा र कटहरीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। पछि जिल्ला प्रहरी कार्यालय मोरङबाट थप प्रहरीसमेत परिचालन गरियो। तर, उद्धारको प्रयास जारी रहे पनि साँझ ५ः२० बजेतिर मात्र ट्याक्टर र काठ पन्छाएर साहलाई बाहिर निकाल्न सकिएको थियो उनले बताए। त्यतिबेलासम्म साहको मृत्यु भइसकेको न्यौपानेले जानकारी दिए। शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


