इटहरी स् विकास निर्माणका आयोजना निर्धारित समयमा सम्पन्न नहुने र निर्माण व्यवसायीले वर्षौँसम्म योजना अलपत्र पार्ने प्रवृत्तिबीच मोरङको रतुवामाई नगरपालिकामा भने एउटा पूर्वाधार आयोजना समयअगावै सम्पन्न भएको छ। रतुवामाई नगरपालिका–८ स्थित कटनुखोलामा निर्माण गरिएको पक्की पुल सम्झौता अवधिभन्दा १० महिना अगावै सम्पन्न भएको हो।
जनता बाँध क्षेत्रअन्तर्गत डाम्राभित्ता बजार पूर्वबाट भुल्काडोवा जोड्ने सडकमा पर्ने कटनुखोलामा निर्माण गरिएको २५ मिटर लामो आरसीसी टी–गर्डर पुलको कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले उद्घाटन गरे। पुल उद्घाटन गर्दै मन्त्री आचार्यले निर्धारित समयभन्दा अगावै गुणस्तरीय काम सम्पन्न गर्ने निर्माण कम्पनी र स्थानीयवासीको सहकार्य प्रशंसनीय रहेको बताए। वर्षौँदेखि अधुरा रहेका विकास आयोजनालाई गति दिन प्रदेश सरकार सक्रिय रहेको उल्लेख गर्दै उनले जिम्मेवारीपूर्वक काम गर्ने निर्माण व्यवसायीले सकारात्मक सन्देश दिएको बताए।
‘प्रदेशमा वर्षौँदेखि अधुरा रहेका योजनालाई गति दिन सरकार अहोरात्र खटिरहेको छ। काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोड्नेसम्मको निर्देशन भइसकेको अवस्थामा समयअगावै पुल निर्माण हुनु सकारात्मक उदाहरण हो,’ उनले भने, ‘यो पुलले स्थानीयको आवागमनसँगै आर्थिक तथा सामाजिक जीवनमा समेत परिवर्तन ल्याउनेछ।’ पुल निर्माणसँगै स्थानीयवासीले चार दशकदेखि भोग्दै आएको आवागमनको समस्या समाधान भएको छ। वर्षायाममा कटनुखोलामा आउने बाढीका कारण विद्यार्थी, किसान तथा सर्वसाधारणले जोखिम मोलेर खोला पार गर्नुपर्ने बाध्यता थियो। बाढीले काठ र बाँसका अस्थायी पुल बगाउँदा स्थानीयले पटकपटक सास्ती बेहोर्दै आएका थिए। अब भने कृषि उपज बजारसम्म पुर्याउन, स्थानीय बजारसँगको पहुँच विस्तार गर्न र विद्यार्थीलाई विद्यालय आवतजावत गर्न सहज हुने भएको छ। पुल निर्माणका लागि जग्गा निःशुल्क उपलब्ध गराएका स्थानीय ज्येष्ठ नागरिक प्रेमबहादुर अधिकारीले चार दशकदेखिको सपना पूरा भएको बताए।
‘२०४० सालदेखि नै यहाँ पुल निर्माणको माग गर्दै आएका थियौँ। काठ र बाँसका पुल बाढीले बगाउँदा पटकपटक जोखिम मोल्नुपर्थ्यो। आज आफ्नै आँखाअगाडि यति छिटो पक्की पुल बनेको देख्दा अत्यन्तै खुसी लागेको छ,’ अधिकारीले भने। पुल निर्माणमा जग्गा उपलब्ध गराउने अधिकारी र स्वर्गीय टेकबहादुर खत्रीको परिवारलाई कार्यक्रममा सम्मानपत्रसहित सम्मान गरिएको थियो। आयोजनालाई प्राथमिकतामा राखेर बजेट सुनिश्चित गर्न पहल गरेका क्षेत्रका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री गणेश उप्रेती ‘सुशील’ले स्थानीयको आवश्यकता, जनप्रतिनिधिको पहल र निर्माण व्यवसायीको जिम्मेवारीबोधले विकास निर्माणमा सकारात्मक परिणाम दिएको बताए।
उनका अनुसार यसअघि उक्त स्थानमा पुल निर्माणका लागि दुई–तीन पटक बजेट विनियोजन भए पनि कार्यान्वयन हुन नसकी बजेट फ्रिज हुँदै आएको थियो। निरन्तरको पहलपछि बजेट सुनिश्चित भएको र निर्माण कम्पनीले जिम्मेवारीपूर्वक काम सम्पन्न गरेको उनले बताए। ‘पहिले दुई–तीन पटक बजेट परेर पनि फ्रिज भएको तीतो इतिहास थियो। निरन्तर पहल गरेर बजेट सुनिश्चित गर्यौँ। निर्माण व्यवसायीले पनि जिम्मेवारीपूर्वक समयअगावै काम सम्पन्न गर्नुभयो। यसले रतुवामाईको विकासमा नयाँ आशा जगाएको छ,’ उप्रेतीले भने। उनले सोही क्षेत्रमा सिँचाइ सुविधा विस्तारका लागि एक करोड रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिँदै उक्त योजनालाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन पहल भइरहेको बताए। रतुवामाई क्षेत्रमा प्रदेश सरकारमार्फत विभिन्न विकास आयोजना सञ्चालनमा रहेको उल्लेख गर्दै उनले थप योजनाका लागि स्थानीयको साथ र सहयोग आवश्यक रहेको धारणा राखे।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मिलन आचार्यले दुई वर्षको निर्माण अवधि रहेको आयोजना १४ महिनामै सम्पन्न हुनु अन्य निर्माण व्यवसायीका लागि पनि उदाहरणीय भएको बताए। समयमै र गुणस्तरीय काम गर्ने निर्माण कम्पनीलाई प्रोत्साहन गरिने उनको भनाइ थियो। रतुवामाई नगरपालिका–८ का वडाध्यक्ष पुष्पबहादुर कार्कीले बाँसको अस्थायी पुलबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने वडावासीको बाध्यता अन्त्य भएको बताए। उनले आयोजना सम्पन्न गर्न सहयोग गर्ने प्राविधिक टोली, निर्माण कम्पनी तथा सरोकारवाला सबैलाई धन्यवाद दिए। पूर्वाधार विकास कार्यालय मोरङमार्फत निर्माण भएको उक्त पुलको कुल लागत ६ करोड ५३ लाख १७ हजार ६२६ रुपैयाँ रहेको छ। थानी–लेखराज–बुढाथोकी जेभीले निर्माणको जिम्मेवारी पाएको थियो। १७ मिटर गहिरो पाइल फाउन्डेसनमा आधारित पुलको क्यारिजवे ६ मिटर चौडा छ। पुलको दुवैतर्फ १।२ मिटर चौडाइका फुटपाथ निर्माण गरिएको छ। २५ मिटर लामो पक्की पुल सञ्चालनमा आएसँगै स्थानीयको वर्षौँदेखिको जोखिमपूर्ण यात्रा अन्त्य हुनुका साथै यस क्षेत्रको सडक सम्पर्क र आर्थिक गतिविधिमा समेत सहजता थपिने अपेक्षा गरिएको छ।


