इटहरी स् डिजिटल साउन्ड सिस्टमको प्रयोग बढे पनि तिहारको देउसीभैलोमा मादलको आकर्षण कायमै छ । तिहार नजिकिएसँगै देउसीभैलो खेल्ने समूह मादल किन्न आउन थालेपछि सुनसरीमा यसको व्यापार बढेको छ ।

धरान उपमहानगरपालिका–२ छाताचोकस्थित साल्सा म्युजिक स्टोरका सञ्चालक सुमन चौधरीका अनुसार तिहारका बेला दैनिक ७० देखि ८० वटासम्म मादल बिक्री हुन्छ । सामान्य समयमा भने दैनिक पाँचदेखि १० वटासम्म मात्र बिक्री हुने गरेको उनले बताए । विगत २० वर्षदेखि मादल, गितारलगायत विभिन्न बाजाको व्यापार गर्दै आएका चौधरीले भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर र बेलटारलगायत स्थानमा मादल पठाउँदै आएका छन् । उनको पसलमा तीन हजारदेखि आठ हजार रुपैयाँसम्मका मादल बिक्रीका लागि राखिएका छन् । पहिले बाहिरबाट मादल ल्याएर बिक्री गर्ने चौधरीले अहिले आफ्नै कारखानामा मादल बनाउने गरेका छन् । आफ्नै कारखाना भएकाले ग्राहकको मागअनुसार आकार र गुणस्तरका मादल बनाउन सहज भएको उनको भनाइ छ ।

उनको पसल तथा कारखानामा अहिले छ जनाले रोजगारी पाएका छन् । परिवारका सदस्यले पनि व्यवसायमा सहयोग गर्दै आएका छन् । धरानको मुख्य बजार भानुचोकदेखि पूर्वतर्फको देसी लाइनमा मादलको व्यापार गर्दै आएका यदुनाथ अधिकारीले पनि तिहार नजिकिएसँगै बिक्री बढेको बताए । विगत १५ वर्षदेखि परिवारका सदस्यसँग मिलेर मादल र खुकुरीको व्यापार गर्दै आएका उनको पसलमा दुई हजारदेखि सात हजार रुपैयाँसम्मका मादल छन् । अधिकारीका अनुसार देउसीभैलो खेल्ने समूहले मादल किन्ने भएकाले तिहारमा यसको माग बढी हुन्छ । लक्ष्मीपूजादेखि बिक्री झनै बढ्ने र कहिलेकाहीँ एकै दिन आठदेखि १० वटासम्म मादल बिक्ने गरेको उनले बताए ।

भोजपुर, धनकुटा तथा पश्चिम नेपालमा उत्पादित मादल खरिद गरेर बिक्री गर्दै आएका अधिकारीले ग्राहकको मागअनुसार विभिन्न गुणस्तर र मूल्यका मादल राखेका छन् । देउसीभैलो खेल्ने समूहले केही समय प्रयोग गर्न सस्ता मादल खोज्ने भएकाले महँगा मादल मात्र नराखिएको उनको भनाइ छ । इटहरी उपमहानगरपालिका–६ का भेषराज अधिकारी पनि विगत नौ वर्षदेखि मादल र खुकुरीको व्यापार गर्दै आएका छन् । तिहारको समयमा मादलको बिक्री उल्लेख्य बढ्ने गरेको उनले बताए । उनका अनुसार तिहारका बेला एक लाखदेखि डेढ लाख रुपैयाँसम्मको मादल बिक्री हुने गरेको छ । देउसीभैलो खेल्ने समूहको मागले यस समयमा व्यापार बढ्ने गरेको हो । डिजिटल धुनको प्रयोग बढिरहँदा पनि देउसीभैलोमा मादलको ताल खोज्ने परम्परा कायमै छ । यही परम्पराले नेपाली मौलिक बाजाको पहिचान जोगाउँदै मादल बनाउने र बेच्नेहरूको व्यवसायलाई समेत चलायमान बनाएको छ ।