इटहरी स् देशका सात जिल्लामा प्रहरीले चलाएको गस्ती तथा निगरानीका क्रममा लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाका चार जनासमेत छन्।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङबाट ट्रामाडोलसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–१ का ३२ वर्षीय गोविन्द तामाङ र मकवानपुरको मनहरी गाउँपालिका–३ लामिटारका २४ वर्षीय सफल विक्रम राणा छन्। ललितपुर महानगरपालिका–१८ वाइवाई चोकबाट पनि ट्रामाडोलसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–५ घर भई ललितपुरको चुनिखेलमा बस्ने २२ वर्षीय नवीन आले मगर छन्।

उदयपुरको बेलका नगरपालिका–८ कोठुबाट नाइट्राजेपामसहित बेलका–४ प्रगतिटोलका २१ वर्षीय सरोज बर्देवा पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटैया खल्लाबाट ब्राउनसुगरजस्तो देखिने पदार्थसहित कैलालीको जोशीपुर गाउँपालिका–९ का २२ वर्षीय कुशल चौधरी र कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारका ३० वर्षीय विशाल विक पक्राउ परेका छन्। झापाको मेचीनगर नगरपालिका–२ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित मेचीनगर–८ का ३९ वर्षीय मिलन मेचेसहित चार जना पक्राउ परेको प्रहरीले जनाएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१ हलगडा चोकबाट ट्रामाडोल र डाइक्लोमाइनसहित मोरङको सुन्दरहरैँचा नगरपालिका–५ सिक्किमे चोकका ३१ वर्षीय पर्शुराम गुरुङ पक्राउ परेका छन्। इटहरी–२ बरगाछीबाट सोही ठाउँका २८ वर्षीय उज्ज्वल बुढाथोकी पनि पक्राउ परेका छन्। उनीहरूले प्रयोग गरेका दुईवटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ। यसैगरी, तनहुँको भिमाद नगरपालिका–६ शान्तिनगर टोलमा डेरा गरी बस्ने भिमाद–३ जलौदीका ३१ वर्षीय शिव मल्ल फेनारगन, डाइजेपाम र बुप्रेनोर्फिनसहित पक्राउ परेका छन्।

पक्राउ परेकाहरू र बरामद लागुऔषधबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।