इटहरी स् नेपाल र भारतमा अवैध रूपमा चिठ्ठा बिक्री वितरण गर्दै आएको आरोपमा भारतको किशनगञ्जबाट दुई जना पक्राउ परेका छन्।
भारतीय प्रहरीले किशनगञ्जस्थित एमजीएम कलेजको गेट नम्बर ०३ नजिकबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा शुबुल सिंह भनिने ४५ वर्षीय संजय सिंह र ४२ वर्षीय अमित चौहान छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट २८ हजार १० रुपैयाँ मूल्य बराबरको अवैध चिठ्ठा र पाँच हजार ५७० भारतीय रुपैयाँ बरामद गरिएको छ।
नेपाल र भारतमा अवैध चिठ्ठाको बिक्री वितरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धान अघि बढाइएको किशनगञ्ज प्रहरीले जनाएको छ। अवैध चिठ्ठाको कारोबारमा उनीहरूको संलग्नता, कारोबारको सञ्जाल र अन्य व्यक्तिको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।


