इटहरी स् मोरङको रतुवामाई नगरपालिका–५ स्थित बक्रा खोला बगरमा गाँजा ओसारपसारमा संलग्न भएको आशंकामा प्रहरीले गोली चलाउँदा एक भारतीय नागरिक घाइते भएका छन्। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गर्नुका साथै दुई चरणमा गरी ३६४ किलोभन्दा बढी गाँजा बरामद गरेको छ।

पक्राउ पर्नेमा भारतको अररिया जिल्ला, जोगबनी निवासी अन्दाजी ३९ वर्षीय प्रमोद चौधरी र अररिया जिल्लाकै महगामा ग्राम पञ्चायत, थाना नम्बर ४ निवासी अन्दाजी ५० वर्षीय राजेन्द्रप्रसाद यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असोज १२ गते राति करिब ११ः३० बजे रतुवामाई नगरपालिका–५, गोविन्दपुरस्थित बक्रा खोला बगरमा सेतो बोराभित्र प्याक गरेर लुकाइछिपाइ राखिएको अवस्थामा २६४ किलो ६१० ग्राम गाँजा बरामद भएको थियो। गाँजा बरामद भएपछि त्यसको ओसारपसार तथा सम्भावित कारोबारमा संलग्न व्यक्तिहरूको पहिचान गर्न प्रहरीले निगरानी बढाएको थियो। इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले सोही क्षेत्रमा बसेर निगरानी गरिरहेको थियो।

प्रहरीका अनुसार निगरानीका क्रममा गाँजा लिएर भारततर्फ जाँदै गरेका व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरू भाग्न खोजेका थिए। त्यसपछि प्रहरीले सुरुमा एक राउन्ड हवाई फायर गरेको थियो। त्यसका बाबजुद उनीहरू नियन्त्रणमा नआएपछि प्रहरीले थप एक राउन्ड गोली चलाएको जनाएको छ। प्रहरीको गोली लागेर चौधरी घाइते भएका छन्। उनको घुँडामुनिको पिँडुलामा गोली लागेको जनाइएको छ। गोली लागेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। सोही क्रममा प्रहरीले यादवलाई पनि नियन्त्रणमा लिएको थियो। उनीहरूको साथबाट करिब १०० किलो थप गाँजा बरामद भएको प्रहरीको विवरणमा उल्लेख छ।

दुई चरणमा गाँजा बरामद

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बक्रा खोला बगरबाट पहिलो चरणमा २६४।६१ किलो र त्यसपछि निगरानीका क्रममा थप करिब १०० किलो गाँजा बरामद भएको हो। दुवै परिमाण जोड्दा कुल बरामद गाँजा करिब ३६४।६१ किलो हुन्छ। घटनामा पक्राउ परेका दुवै भारतीय नागरिकलाई नियन्त्रणमा राखेर इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मकेन्द्रकुमार मिश्रले असोज २९ गते जारी गरेको प्रेस विज्ञप्तिमा घटनाबारे जानकारी दिइएको छ। बरामद गाँजा कहाँबाट ल्याइएको थियो, यसको अन्तिम गन्तव्य कहाँ थियो र कारोबारमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानबाट गाँजा ओसारपसारको स्रोत र सम्भावित सञ्जालबारे थप विवरण खुल्ने अपेक्षा गरिएको छ।