इटहरी स् झापाली साहित्य समाज र ऊर्जाशील साहित्य कला प्रतिष्ठान, चारपानेको संयुक्त आयोजनामा कथा संग्रह ‘मञ्जरी’ विहिवार लोकार्पण गरिएको छ।
बिर्तामोडस्थित सरगम सङ्गीतालयको सभाहलमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्यमा कृति लोकार्पण गरिएको हो। कार्यक्रममा सहभागी साहित्यकारहरूले ‘मञ्जरी’लाई नेपाली साहित्यको महत्वपूर्ण दस्तावेजका रूपमा चर्चा गरेका थिए। ऊर्जाशील साहित्य कला प्रतिष्ठानका अध्यक्ष साहित्यकार डिपी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा झापाली साहित्य समाजका अध्यक्ष हरि बरालले सञ्चालन गरेका थिए। लोकार्पित कृतिमाथि डा। गोपीकृष्ण खतिवडाले समीक्षा गर्दै त्यसका विषयवस्तु र साहित्यिक पक्षबारे चर्चा गरेका थिए।
कार्यक्रममा ३० जना सर्जकले आफ्ना कविता तथा अन्य साहित्यिक रचना वाचन गरेका थिए। साहित्यिक सिर्जनाको प्रस्तुति र कृतिमाथिको छलफलले कार्यक्रमलाई साहित्यिक विमर्शको अवसरका रूपमा अघि बढाएको थियो। कार्यक्रममा साहित्यकार राजेन्द्र संग्रौला, लीलाप्रसाद अधिकारी, नवराज घिमिरे, माधव कल्पित र केशबहादुर राईले शुभकामना मन्तव्य राखेका थिए। उनीहरूले कृतिको प्रकाशन तथा साहित्यिक गतिविधिले स्थानीय साहित्यिक वातावरणलाई थप सक्रिय बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए। तुलसीप्रसाद भट्टराई र कृष्णप्रसाद मिश्रको सिर्जनामा तयार भएको ‘मञ्जरी’ कथा संग्रह ईशा बुक्स एन्ड स्टेसनरी, बिर्तामोडले प्रकाशन गरेको हो। पुस्तकको प्रकाशनसम्बन्धी जानकारी केशवप्रसाद मैनालीले दिएका थिए।
कार्यक्रममा उपस्थित साहित्यकार तथा अतिथिलाई कृष्णप्रसाद मिश्रले धन्यवाद ज्ञापन गरेका थिए। ६० भन्दा बढी साहित्यकार तथा लेखकको उपस्थिति रहेको कार्यक्रममा कृतिबारे सकारात्मक प्रतिक्रिया प्राप्त भएको सर्जक तुलसीप्रसाद भट्टराईले जानकारी दिए। साहित्यकारहरूको सहभागिता, सिर्जना वाचन र कृतिमाथिको समीक्षासहित सम्पन्न कार्यक्रमले झापाको साहित्यिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।


