इटहरी। नवरात्र सुरु भएसँगै खसीको माग बढेको छ । माग अनुसार आपूर्ति हुन नसक्दा मासुको मूल्यसमेत वृद्धि भएको छ । ग्रामीण बजारमा दसैँअघिसम्म प्रतिकिलो एक हजार एक सय रुपियाँमा बिक्री हुँदै आएको खसीको मासुको मूल्य एकै पटक किलोमा सय बढाएर एक हजार दुई रुपियाँ पु(याइएको छ । बजारमा भने प्रतिकिलो एक हजार तीन सयदेखि एक हजार छ सय रुपियाँसम्म खसीको मासुु बिक्री भइरहेको छ । 

मोरङको कानेपोखरी–६ स्थित दिगोपन सामाजिक महिला उद्यमी सहकारी संस्थाले आठ वर्षदेखि फ्रेस हाउस सञ्चालन गर्दै आएको छ । आफ्ना सेयर सदस्यलाई ऋण लगानी गरी सदस्यसँगै खसी खरिद गर्दै आएको सहकारीले यसअघि सेयर सदस्यसँग जिउँदो खसी खरिद गरेर जिउँदै बिक्री गर्दै आएको थियो । यो वर्ष सहकारीलाई आफ्नो फ्रेस हाउस सञ्चालन गर्न नै खसीको अभाव भइरहेको छ । 

सहकारीका कोषाध्यक्ष विमला अधिकारीका अनुसार सेयर सदस्यले समेत सहरबाट खसी खोज्न आउने ग्राहकलाई खसी बेच्न थालेका छन् । गत वर्ष करिब सात सय वटा खसी बिक्री गरेको सहकारीले यस वर्ष माग अनुसार आपूर्ति गर्न नसकेको उहाँले बताउनुभयो । 

सहरबाट आउने ग्राहक गाउँमै पुगेर खसी खरिद गर्न थालेपछि स्थानीय बजारमा अभाव देखिएको हो । मोरङको कानेपोखरी–३, हरकपुरका हेमचन्द्र भण्डारीले भन्नुुभयो, धरान विराटनगर, दमक, इटहरी जस्ता ठुला सहरमा खसीको मासु प्रतिकिलो एक हजार छ सय रुपियाँसम्म पर्छ । गाउँमा खसीको मासु प्रतिकिलो एक हजार दुई सयमा पाइन्छ । ढुवानी खर्च जोड्दा पनि सहरमा खरिद गर्नुभन्दा गाउँबाट ल्याउँदा फाइदा हुने भएकाले सहरका ग्राहक गाउँ पस्ने गरेको भण्डारीको भनाइ छ । किसानले गाउँका ग्राहकभन्दा सहरका ग्राहकलाई बेच्न चाहन्छन् । 

सुन्दरहरैँचा–८ का डिल्लीराम पौडेलले भन्नुुभयो,खसीको माग बढे पनि उत्पादन पर्याप्त नहुँदा बजारमा समेत खसीको अभाव देखिएको छ । पूरै बजारभरि दुईरचार वटा मात्रै खसी छन् । खसी खोज्नेको भिड छ तर खसी छैनन् । पछिल्लो समय खसी पाल्नेभन्दा खरिद गरेर उपभोग गर्नेको सङ्ख्या बढ्दै जाँदा चाडपर्वका बेला माग धान्न कठिन भएको स्थानीय बाख्रापालक किसान बताउँछन् । पहाडबाट खसी ल्याएर बजारका फ्रेस हाउसलाई खसी बेच्ने व्यापारी पनि खसीको माग धान्न गाह्रो भएको बताउँछन् ।