इटहरी। मोरङको रतुवामाई नगरपालिका–५ स्थित बक्राहा खोला बगरमा गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा एक भारतीय नागरिक घाइते भएका छन् । प्रहरीले गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

गोली लागेर भारतको अररिया जिल्ला, जोगबनीका ३९ वर्षीय प्रमोद चौधरी घाइते हुनुभएको हो । प्रहरीका अनुसार बिहीबार गोविन्दपुरस्थित बक्राहा खोला बगरमा लुकाइछिपाइ राखिएका आठवटा सेता बोराबाट २६४।५९ किलोग्राम गाँजा बरामद गरिएको थियो । सोही स्थानमा पुनः गाँजाको कारोबार हुन सक्ने सूचनाका आधारमा राति इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले गस्ती गर्ने क्रममा गाँजा बोकेर भारततर्फ जाँदै गरेका केही व्यक्तिलाई फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

मिश्रका अनुसार प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भारततर्फ भाग्न खोजेपछि एक राउन्ड हवाई फायर गरेको थियो । त्यसपछि पनि नियन्त्रणमा नआएपछि प्रहरीले अर्को एक राउन्ड गोली चलाउँदा चौधरीको घुँडामुनि गोली लागेको हो । प्रहरीले चौधरीसँगै भारतको अररिया जिल्लाको महागामा ग्राम पञ्चायत, थाना–४ का ५० वर्षीय राजेन्द्रप्रसाद यादवलाई पनि करिब १०० किलोग्राम गाँजासहित पक्राउ गरेको छ । घाइते चौधरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।