इटहरी। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा निर्माण गर्न सुरु भएको केबुलकारको काम छ महिनादेखि ठप्प छ । केबुलकारको विषयमा विवाद चुलिँदै गएपछि निर्माणको काम ठप्प भएको हो ।
पाथीभरा देवी दर्शन केबुलकार प्रालिले यहाँ केबुलकार निर्माण गर्न सुरु गरेको हो । केबुलकार परियोजनाको पक्ष र विपक्षबिचको विवाद चुलिँदै गएपछि गत वैशाख दोस्रो सातापछि निर्माणको काम रोकिएको हो । केबुलकार परियोजनाको काम निरन्तर गर्न नपाएपछि निर्माण पक्षलाई घाटा भएको छ । केबुलकार परियोजना सञ्चालक समितिका सदस्य रुद्र पौडेलका अनुसार करिब छ महिनादेखि निर्माण रोकिएको छ । सदस्य पौडेलका कुनै बाधा अवरोध नभई निरन्तर काम गर्न पाएको भए हालसम्ममा केबुलकार निर्माण अन्तिम चरणमा पुग्ने थियो । उहाँले केबुलकार निर्माणको काम करिब ६० प्रतिशत सम्पन्न भइसकेको बताउनुभयो ।
यता विवादका विषयलाई लिएर वर्तमान सरकारले एक अध्ययन समिति बनाएको थियो । सो समितिले परियोजनाको अवस्थाबारे स्थलगत जानकारी लिएर फर्किएको र समितिले सरकारसमक्ष आफ्नो प्रतिवेदन बुझाइसकेको पनि परियोजना सञ्चालक समिति सदस्य पौडेलको भनाइ छ । समितिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुझाएको प्रतिवेदनबारे ठोस निष्कर्ष नआएसम्म केबुलकार निर्माण कार्य अघि नबढ्ने पनि उहाँले बताउनुभयो । केबुलकार परियोजनाको कार्यालय रहने आवास, सुरक्षा शिविरसहितका संरचना सुरुमै निर्माण गरी उपयोगमा रहेका छन् । तल्लो ९बटम० स्टेसन निर्माणको काम सुरु भइसकेको छ भने माथिल्लो स्टेसन रहने ठाउँमा माटो सम्याउने काम भइसकेको परियोजनाका सबइन्जिनियर सुरेश यादवले जानकारी दिनुभयो ।
चार वटा खम्बा राख्ने सुरुको स्ट्यान्ड पनि निर्माण भइसकेको सबइन्जिनियर यादवले बताउनुभयो । वारपार १३ वटा खम्बा रहनेमा स्ट्यान्ड निर्माण भएकोबाहेक अन्य पाँच वटा खम्बा रहने ठाउँमा माटो सम्याउने र खाल्टो खन्ने काम पनि भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ निर्माण भएको संरचनाबाहेक केबुलकार फलामे खम्बा, तार, डिब्बासहितका उपकरण उत्पादन हुने उद्योग तथा विभिन्न कम्पनीमा तयार भइसकेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहनुभएका चन्द्रप्रसाद ढकाल नेतृत्वको पाथीभरा देवी दर्शन केबुलकार प्रालिले करिब तीन अर्ब रुपियाँभन्दा बढीको लगानीमा केबुलकार निर्माण सुरु गरेको हो । केबुलकार निर्माणको प्रव्रिmया सुरु हुँदादेखि नै परियोजनाको विरोध भएको थियो ।
स्थानीय आदिवासी जनजाति समुदायले आफ्नो ऐतिहासिक पहिचानमाथिको अस्तित्व र धार्मिक आस्थाको पवित्र स्थलमाथि अतिव्रmमण गरिएको भन्दै विरोध भएको थियो । विशेष गरी लिम्बू ९याक्थुङ० समुदायको धार्मिक आस्था रहेको ऐतिहासिक स्थलको अस्तित्व नास गर्ने गरी र बहुमूल्य तथा लोपोन्मुख रुख, बिरुवा र वनस्पति विनाश गरेर वातावरणमा गम्भीर असर पुग्ने गरिएको भन्दै केबुलकार परियोजनाको विरोध गरिएको हो । स्थानीय आदिवासी जनजाति पहिचान पक्षले जस्तोसुकै मूल्य चुकाएर भए पनि केबुलकार निर्माण गर्न नदिने रणनीतिमा अघि बढेपछि विवाद चुलिँदै गएको हो ।
स्थानीयको विरोधबिच निर्माणको काम अघि बढाइएपछि स्थानीय समुदायसहितका नागरिक केबुलकारको पक्ष र विपक्षमा विभाजित भएका छन् । विपक्षमा रहेकाले केबुलकारको निरन्तर विरोध गर्न थालेपछि विवाद उत्कर्षमा पुग्यो भने यसबिचमा पटक पटक झडपको स्थितिसमेत सिर्जना भएको छ । केबुलकार परियोजना खारेज गर्नुपर्ने माग राखेर विपक्षी समूह काममा अवरोध गर्न प्रत्यक्ष रूपमै उत्रिएपछि विवाद समाधान गर्नका लागि सरकारले समिति बनाएको हो । सरकारले गठन गरेको समितिले केबुलकार परियोजना र विवादबारे स्थलगत अनुगमन, निरीक्षण र अध्ययन गरेर फर्किएकाले त्यसपछि हुने सरकारी निर्णयको पर्खाइमा अहिले केबुलकार निर्माण र विरोधी पक्ष छन् । सरकारी समिति स्थलगत अध्ययनका लागि आएर फर्किएको लामो समय बित्दासमेत कुनै निष्कर्ष नआउँदा निर्माण पक्षलाई भने घाटा भइरहेको छ ।


