इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित ज्ञानज्योति इङ्लिस स्कुलले प्रिस्कुलका बालबालिकालाई नेपाली मौलिक संस्कृतिसँग जोड्ने उद्देश्यले दसैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।
दसैँको टीकाको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा बालबालिकालाई टीका–जमरा लगाइदिनुका साथै चाडपर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्वबारे जानकारी गराइएको हो । बालबालिकाले गीत, संगीत र नृत्य प्रस्तुत गर्दै शुभकामना साटासाट गरेका थिए । कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल देवी सिटौलाले औपचारिक शिक्षासँगै असल संस्कार, नैतिक मूल्य र सामाजिक व्यवहार सिकाउनु विद्यालयको महत्त्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो।
बालबालिकालाई पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित नराखी अनुशासन, सहकार्य, सम्मान र आपसी सद्भाव सिकाउनुपर्नेमा उहाँले जोड दिनुभयो। बाल्यकालमा सिकेका संस्कारले व्यक्तित्व निर्माणमा दीर्घकालीन प्रभाव पार्ने भएकाले सानैदेखि मौलिक पहिचान र परम्परा प्रति गर्व गर्न प्रेरित गर्नुपर्ने उहाँको भनाइ थियो।
खेल, मनोरञ्जन र व्यावहारिक अभ्यासका माध्यमबाट सिकाउँदा बालबालिकाको आत्मविश्वास र सिर्जनात्मक क्षमता विकास हुने धारणा विद्यालयको छ । प्रिन्सिपल सिटौलाको नेतृत्वमा सम्पन्न यस कार्यक्रमले बालबालिकामा सानै उमेरदेखि असल संस्कारको विकास गर्दै शिक्षा र संस्कृतिलाई सँगै लैजाने विद्यालयको प्रतिबद्धतालाई उजागर गरेको छ ।


