इटहरी । मानव बेचबिखनविरुद्धको अभियानलाई सशक्त बनाउँदै जोखिममा रहेका तथा प्रभावित व्यक्तिलाई आत्मनिर्भर बनाउने उद्देश्यले माइती नेपाल तथा पुनःस्थापना गृह इटहरी, सुनसरीले सिलाईकटाई तालिम लिएका पाँच जनालाई सिलाई मेसिन हस्तान्तरण गरेको छ।
‘हाम्रो आवाज, चेलीबेटी बेचबिखनबाट मुक्ति समाज’ भन्ने मूल नाराका साथ माइती नेपाल सुनसरीको आयोजना तथा प्रोफिलाको सहयोगमा सञ्चालित छ महिने जीवनोपयोगी सीप विकास कार्यक्रम अन्तर्गत तालिममा सहभागीलाई मेसिन हस्तान्तरण गरिएको हो। इटहरी उपमहानगरपालिका–२० स्थित जनसहयोग मा.वि का प्रधानाध्यापक धर्म भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरीले तालिममा सहभागीलाई सिलाई मेसिन हस्तान्तरण गर्नुभयो। कार्यक्रममा तालिम पूरा गरेका सहभागीलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो।
कार्यक्रममा उपप्रमुख चौधरीले तालिमबाट सिकेको सीपलाई व्यावसायिक रूपमा प्रयोग गर्दै आत्मनिर्भर बन्न सहभागीलाई आग्रह गर्नुभयो। सीप हासिल गरेपछि त्यसको सदुपयोग गरी आयआर्जनमा जोडिनुपर्ने उहाँको भनाइ थियो। माइती नेपाल तथा पुनःस्थापना गृह इटहरीकी सञ्चालिका सुनिता कार्कीका अनुसार मानव बेचबिखनको जोखिममा रहेका तथा प्रभावित व्यक्तिलाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। संस्थाले सिलाईकटाई सँगै ब्युटिपार्लर, एड्भान्स तथा कम्प्युटर सम्बन्धी तालिम मार्फत सहभागीलाई स्वरोजगार बन्न सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो। कार्यक्रमअन्तर्गत कुल १४ जनाले तालिम लिएका थिए ।
तीमध्ये आठ जनाले सिलाईकटाई र छ जनाले कम्प्युटर सम्बन्धी तालिम लिएका थिए। सिलाईकटाई तालिम पूरा गरेका पाँच जनालाई व्यवसाय सञ्चालन तथा आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सिलाई मेसिन उपलब्ध गराइएको हो। तालिमपछि आवश्यक उपकरण समेत प्राप्त भएपछि सहभागीहरू उत्साहित भएका छन्। कार्यक्रममा तालिम प्रशिक्षक, प्रशिक्षार्थी तथा स्थानीय व्यक्तिहरूको सहभागिता रहेको थियो।


