इटहरी स् झापाको कनकाई नगरपालिका–१ दुर्गापुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अर्की घाइते भएकी छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दुर्गापुरस्थित सहिद गेटअगाडि शुक्रबार साँझ करिब ५ः४५ बजे दुर्घटना भएको हो। लक्ष्मीपुरबाट सुरुङ्गातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४८०० नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको कोशी प्रदेश ०१–०२० प ९८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्कुटर चालक कमल गाउँपालिका–५ की ४५ वर्षीया अमृता थापा मगर र पछाडि सवार दमक नगरपालिका–१२ की ३४ वर्षीया अम्बिका लावती घाइते भएका थिए।
दुवैलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो। अमृताको दाहिने हात र खुट्टामा चोट लागेको छ। उनलाई बीएण्डसी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। अम्बिकाको टाउको, कम्मर र दाहिने हातमा चोट लागेको थियो भने नाकबाट समेत रगत बगेको थियो। उनलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव अस्पतालमै राखिएको छ।
दुर्घटनापछि अस्थायी प्रहरी बिट दुर्गापुरबाट प्रहरी सहायक निरीक्षक दीर्घबहादुर कार्कीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनामा संलग्न ट्रक, स्कुटर र ट्रक चालक इलाम नगरपालिका–१० का ३६ वर्षीय छविकुमार मगरलाई नियन्त्रणमा लिएको छ। ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको छ भने स्कुटर अस्थायी प्रहरी बिट दुर्गापुरमा राखिएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।


