इटहरी स् विराटनगरबाट शव बोकेर भोजपुरतर्फ जाँदै गरेको एम्बुलेन्स धनकुटामा दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन्। दुर्घटनामा चालक गम्भीर घाइते भएका छन् भने अर्का यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्कुलडाँडास्थित मध्यपहाडी लोकमार्गमा आइतबार राति करिब १२ः३० बजे एम्बुलेन्स दुर्घटनामा परेको हो। प्रहरीका अनुसार विराटनगरबाट शव लिएर भोजपुरतर्फ जाँदै गरेको रामप्रसाद राई गाउँपालिकाद्वारा सञ्चालित बा प्र–०१–०२–००२ झ ६१९० नम्बरको महिन्द्रा बोलेरो एम्बुलेन्स अनियन्त्रित भएर सडकबाट करिब तीन मिटर तल खोल्सीमा खसेको थियो।

दुर्घटनामा भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ का २१ वर्षीय चालक शक्ति राई गम्भीर घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। त्यस्तै, सोही गाउँपालिका–७ का ४६ वर्षीय रामनन्द राई पनि घाइते भएका छन्। उनको कम्मरमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले दुवै जनाको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाएको थियो। प्रहरीको प्रारम्भिक अनुमानमा तीव्र गतिका कारण एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।