इटहरी स् तरकारी बोकेको पिकअप भ्यानमा लुकाएर भारततर्फ लैजान लागिएको ५७० किलो गाँजा मोरङमा बरामद भएको छ। सशस्त्र प्रहरी बलले जहदा गाउँपालिका–४ रामचोकबाट शनिबार राति गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० गेहेन्द्रबहादुर भण्डारीका अनुसार स्कुस र बन्दाकोपी बोकेको पिकअपभित्र लुकाएर राखिएको अवस्थामा राति करिब ११ बजे गाँजा फेला परेको हो। उनका अनुसार सशस्त्र प्रहरी बल नेपालअन्तर्गत सीमा सुरक्षा चौकी ९बीओपी० नोचाबाट खटिएको टोलीले जहदा गाउँपालिका–४ स्थित रामचोकमा शंकास्पद अवस्थामा रहेको प्र १–०१–०० च ७४२२ नम्बरको महेन्द्र पिकअप भ्यानलाई रोक्न खोजेको थियो। तर, प्रहरी टोलीलाई देखेपछि चालक गाडी छाडेर फरार भएका थिए।

त्यसपछि सशस्त्र प्रहरीले पिकअप नियन्त्रणमा लिएर खानतलासी गर्दा तरकारीको बीचमा लुकाएर राखिएका १९ पोका गाँजा फेला पारेको एसपी भण्डारीले बताए। बरामद गाँजाको तौल ५७० किलो रहेको उनले जानकारी दिए। बरामद गाँजा र पिकअप भ्यान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। गाँजा कहाँबाट ल्याइएको हो र यसमा को–को संलग्न छन् भन्ने खुलेको छैन। तर, नेपालबाट भारततर्फ गाँजा लैजाने उद्देश्यले तरकारीभित्र लुकाएर ल्याइएको प्रारम्भिक अनुमान प्रहरीको छ। नेपाल–भारत सीमा नजिकै पुगेको पिकअपलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।