इटहरी । मोरङको बेलबारी नगरपालिका–४ स्थित प्रगति तीन – पैने टोलमा गणेश मन्दिर निर्माण गरिएको छ । स्थानीयस्तरमा धार्मिक तथा सामाजिक गतिविधिका लागि उपयुक्त सार्वजनिक स्थलको अभाव रहेकाले मन्दिर निर्माण गर्ने अवधारणा अघि बढाइएको हो ।
मन्दिर निर्माण समितिका अध्यक्ष पुष्पनारायण अधिकारीका अनुसार वडा कार्यालयको केही सहयोग तथा विभिन्न दाताहरूबाट प्राप्त सहयोग रकमबाट मन्दिर निर्माण गरिएको हो। करिब ७ लाख ५० हजार रुपैयाँको लागतमा मन्दिरको मुख्य संरचना निर्माण सम्पन्न गरिएको उहाँले बताउनुभयो । स्थानीयको सहयोग र सहभागितामा मन्दिर निर्माणको काम अघि बढाइएको भए पनि अझै केही निर्माण तथा व्यवस्थापनका काम बाँकी रहेको अध्यक्ष अधिकारीको भनाइ छ। मन्दिरमा रङरोगन गर्नुपर्ने, बरन्डा निर्माण गर्नुपर्ने तथा अन्य आवश्यक संरचना थप्नुपर्ने काम बाँकी रहेको उहाँले जानकारी दिनुभयो।
मन्दिरलाई पूर्णरूपमा व्यवस्थित बनाउन थप आर्थिक स्रोत आवश्यक रहेकाले आगामी दिनमा बेलबारी नगरपालिका तथा अन्य सहयोगी निकायबाट समेत सहयोगको अपेक्षा गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । मन्दिर निर्माणसँगै प्रगति–तीन पैने टोलका स्थानीयलाई धार्मिक कार्यक्रम, पूजा आराधना तथा सामाजिक गतिविधिका लागि आफ्नै स्थल उपलब्ध भएको स्थानीयको भनाइ छ । बाँकी कामसमेत सम्पन्न भएपछि मन्दिरलाई व्यवस्थित र आकर्षक बनाउने तयारी गरिएको छ ।


