इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ नम्बर वडा कार्यालयले ‘वडाध्यक्ष मेरो साथी’ कार्यक्रम अन्तर्गत २८ घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । 

वडा कार्यालयले आज एक कार्यक्रम आयोजना गरी विपन्न तथा आवश्यकतामा रहेका २८ घरपरिवारलाई तीन महिनाका लागि पुग्ने गरी खाद्यान्न सामग्री वितरण गरेको हो। प्रत्येक परिवारलाई ४५ किलो चामल, ३ किलो दाल र नुन वितरण गरिएको वडा अध्यक्ष भीमकुमार राईले बताउनुभयो ।

वडा अध्यक्ष राईले वडाभित्र आर्थिक तथा सामाजिक रूपमा कमजोर परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले ‘वडाध्यक्ष मेरो साथी’ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। कार्यक्रम मार्फत स्थानीयस्तरमै नागरिकका समस्या पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउने प्रयास गरिएको वडा कार्यालयले जनाएको छ। कार्यक्रममा वडा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।