इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिका–२ स्थित वसन्तपुर बजार क्षेत्रमा सामूहिक सरसफाइ अभियान सम्पन्न भएको छ ।
वडा नम्बर २ को कार्यालयको आह्वानमा सञ्चालन गरिएको अभियानमा प्रत्येक घरधुरीबाट एक जना प्रतिनिधि सरसफाइ सामग्री सहित सहभागी भएका थिए । वसन्तपुर बसपार्कस्थित गुराँस स्तम्भ देखि बजार क्षेत्र सम्म गरिएको सरसफाइका क्रममा सडक तथा नालीमा राखिएका व्यापारिक सामान, निर्माण सामग्री, काठ, दाउरा लगायतका अव्यवस्थित सामग्री हटाइएको छ । बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।
सरसफाइ कार्यक्रममा वडा अध्यक्ष तथा जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो । वडा सदस्य लालबहादुर लिम्बुले आफ्नो पसल अगाडिको सडक छेउमा कुनै पनि वस्तु नराख्न व्यवसायी तथा स्थानीयलाई आग्रह गर्नुभएको छ । सडक छेउमा सामग्री राखिएको पाइएमा तत्काल हटाउन समेत उहाँले आग्रह गर्नुभयो ।
त्यस्तै, स्थानीय राम गुरुङले चाडपर्वका बेला मात्रै सरसफाइ गर्नेभन्दा महिनामा कम्तीमा एक दिन नियमित रूपमा सरसफाइ गर्ने हो भने अभियान अझ प्रभावकारी हुने बताउनुभयो । स्थानीयको सहभागितामा सम्पन्न सरसफाइ अभियानले ‘सफा वसन्तपुर, सुन्दर वसन्तपुर’ निर्माणका लागि सकारात्मक सन्देश दिएको छ ।


