इटहरी स् शिवसताक्षी नगरपालिकाले बजारमा बिक्री भइरहेका खाद्य तथा उपभोग्य वस्तुको गुणस्तर र म्याद जाँचलाई तीव्रता दिएको छ। नगरपालिकाले मंगलबार शिवसताक्षी–१ स्थित धरमपुर बजारमा गरेको अनुगमनका क्रममा म्याद गुज्रिएका, लेबल नभएका तथा गुणस्तरमा समस्या देखिएका खाद्य सामग्री फेला पारेको हो।
अनुगमनका क्रममा धरमपुरस्थित कृष्ण किराना एन्ड फेन्सी पसलबाट ठूलो परिमाणमा म्याद गुज्रिएको कुरमुरे फेला परेको नगरपालिकाले जनाएको छ। पसलमा फेन्टा, ढुसी लागेको चना, पान मसला, लेबल नभएको पापडलगायत सामग्री पनि भेटिएका थिए।त्यस्तै कुलुङ होटल, अनिस किराना पसल तथा साया किराना तथा फलफूल पसलमा पनि म्याद गुज्रिएका खाद्य सामग्री भेटिएको अनुगमन समितिकी संयोजक एवं नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन्।
उपप्रमुख कार्कीले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका खाद्य सामग्रीको गुणस्तरमा लापरबाही स्वीकार्य नहुने बताइन्। नगरपालिकाले बजार अनुगमनलाई नियमित बनाउँदै लैजाने उनको भनाइ छ। ‘निरन्तर बजार अनुगमन गरिरहेका छौँ। तर केही पसलमा पटक–पटक म्याद गुज्रिएका सामग्री भेटिनुले व्यवसायीले यस विषयमा हेलचेक्र्याइँ गरिरहेको देखिन्छ,’ उनले भनिन्, ‘नागरिकको स्वास्थ्यमा खेलवाड नगर्न सबै व्यवसायीलाई आग्रह गर्छौँ।’
अनुगमन टोलीले व्यवसायीलाई खाद्य सामग्रीको म्याद, लेबल, उत्पादन तथा उपभोग्य मिति, मूल्यसूची र भण्डारणको अवस्थाबारे जानकारी गराउँदै आवश्यक निर्देशनसमेत दिएको थियो। धरमपुर बजारपछि टोलीले मंगलबारे बजारका केही पसलमा पनि अनुगमन गरेको थियो। अनुगमनका क्रममा बिक्रीका लागि अनुपयुक्त तथा म्याद गुज्रिएका सामग्री नबेच्न व्यवसायीलाई सचेत गराइएको नगरपालिकाले जनाएको छ।
अनुगमनमा भेटिएका अखाद्य तथा म्याद गुज्रिएका सामग्री नियमानुसार नष्ट गरिने नगरपालिकाले जनाएको छ। उपभोक्ताको अधिकार संरक्षण र व्यवसायीलाई जिम्मेवार बनाउने उद्देश्यले बजार अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिने नगरपालिकाको भनाइ छ। अनुगमन टोलीमा नगरपालिकाको राजस्व शाखाका कर्मचारी, नेपाल प्रहरी, नगर प्रहरी तथा शिवसताक्षी उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिता थियो।


