इटहरी। झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी तस्करीमार्फत ल्याइएका करिब ९ लाख ३ हजार ४७० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा यात्रुवाहक बसबाट करिब १ लाख ६२ हजार ६१० रुपैयाँ बराबरका रजनीगन्धा, चकलेट, नरिवल, काजु लगायतका खाद्यान्न सामग्री बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बूढीगंगा गाउँपालिका–५ बाट करिब ४ लाख ९ हजार ४६० रुपैयाँ बराबरका कुर्ता सुरुवाल, बच्चाको जामा, भेस्ट र मोजा बरामद गरेको छ।

त्यसैगरी, विराटनगर महानगरपालिका–९ बाट बिलबिजक नभएको ५४० किलोग्राम सुपारी बरामद गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बरामद सुपारीको मूल्य करिब २ लाख ७० हजार रुपैयाँ रहेको छ। यस्तै, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले विराटनगर–६ बाट करिब ५० हजार रुपैयाँ बराबरका कुर्ता सुरुवाल बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय शिवगञ्ज झापाबाट खटिएको टोलीले पनि करिब ११ हजार ४ सय रुपैयाँ बराबरका खाद्यान्न सामग्री बरामद गरेको छ। प्रहरीले बरामद गरेका सबै सामान आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाएको जनाएको छ।