इटहरी। कुनै समय मानिसको धेरै चहलपहल हुने धनकुटाका मुगा गाउँ अहिले सुनसान छ । घर छन्, इतिहास छ, सम्भावना छ । तर गाउँमा मानिसहरू भने कम छन् ।
पूर्व प्रधानमन्त्री स्व। सूर्यबहादुर थापाको गाउँ मुगा पछिल्लो अढाई दशक यता गुमनामझैँ छ । यो गाउँ तब सुनसान बन्न थाल्यो जब थापाहरू सँगै स्थानीय बसाइँ सर्न थाले । द्वन्द्वले थप विथोलिएको मुगा अहिलेसम्म सुनसान छ । स्थानीय विदुर थापाका अनुसार त्यो बेला मुगाको रौनक नै बेग्लै हुन्थ्यो । मुगाका थापा देशको प्रधानमन्त्री देखि अन्य उच्च ओहोदामा हुनुहुन्थ्यो । थापा बाहेक घिमिरेहरू, राई आदिको पनि बाहुल्यता थियो । अर्का स्थानीय थामबहादुर राईका अनुसार मुगाले त्यो बेलाको समय अनुसारको सुविधा पाएको थियो, गाउँसम्म पुग्ने गोरेटो राम्रो थियो । स्थानीय त्यही घोडामा ओहोरदोहोर गर्दर्थे । गाउँमा घरीघरी हेलिकप्टर आउँथ्यो । विद्यालय त्यही बेला थियो । धार्मिक आस्थासहितका राम्रो र आकर्षक मन्दिर थिए । पुस्तकालय थियो । तर अहिलेको विकासमा मुगा पछि परेको राईको भनाई छ ।
तर अहिले अधिकांशले मुगा गाउँ छाडिसकेका छन् । गाउँमा घर त छन् तर धेरै घर रित्ता छन् । केही ढलिसकेका छन् त केही ढल्ने अवस्थामा पुगेका छन् । यहाँबाट बसाइँ सरी गएकाहरू तराई तथा काठमाडौँसहित अमेरिका तथा युरोपसम्म पुगेका छन् । कोही पुख्र्यौली गाउँ स्थानीय फर्केर गाउँ आउने कुरो त गर्छन्, तर गाउँको अवस्थाले आफ्नो निर्णयमा पुनर्विचार गर्न बाध्य हुन्छन् । अहिले पनि मुगा स्वास्थ्य, शिक्षा, सडक पहुँचसहित जीविकोपार्जन र रोजगारीको विषयमा धेरै पछि परेको स्थानीयको भनाइ छ । रोजगारी र सुविधाको खोजीमा बसाइँ सर्ने क्रम अहिले पनि रोकिएको छैन । करिब ३ दशक अघि ट्र्याक खोलिएको पाख्रीबास मुगा सुनवालुवा सडक अहिलेसम्म कालोपत्रे हुन सकेको छैन । मुगावासीले हिउँदमा धुलो र बर्खामा हिलोको सामना गर्नुपर्छ । खान तथा सिचाइँको लागि आवश्यक पर्ने पानीको अभाव छ । माध्यमिकसम्मको शिक्षा गाउँमा भए पनि गुणस्तरीय नहुनु तथा उच्च शिक्षाको लागि गाउँबाट बाहिरी नै पर्ने अवस्था छ । सामान्य उपचारकै लागि पनि सदरमुकाम धाउनुपर्ने अवस्था रहेको स्थानीय टेकबहादुर राईको भनाइ छ ।
स्थानीय सरकारले सुधारको पहल त गरिरहेको छ । गाउँका सडक सुधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाइँ आदिको लागि काम गरिरहेको पाख्रीबास नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष गणेश राई बताउनुहुन्छ । तर सीमित श्रोत र धेरै समस्याकाबिच गरिएको कार्य आवश्यकता अनुसार हुन नसकेको उहाँको भनाइ छ । उहाँका अनुसार धनकुटाको मुगा एउटा यस्तो गाउँ हो, जहाँ नेपाल एकीकरणदेखिको इतिहास पाइन्छ । दुई सय वर्ष पुरानो इतिहास र कलाकौशल देख्न पाइन्छ । सदरमुकाम धनकुटा बजारबाट उत्तर पश्चिमतर्फ गाडीमा झन्डै एक घण्टामा पुगिन्छ । पृथ्वीनारायण शाहको आदेशमा युद्ध लड्न सरदार रामकृष्ण थापा पोखराबाट गोरखा हुँदै धनकुटाको मुगा पुगेको र त्यही बसोबास गरेको मुगाली थापाको वंशावलीमा उल्लेख छ ।
मुगाको अबको विकल्प पर्यटन र कृषि रहेको स्थानीयको बुझाइ छ । यो क्षेत्रलाई पर्यटनको माध्यमबाट प्रचार गर्न सकिए मुगामा पुन चहलपहल बढ्ने स्थानीय गोकुल घिमिरे बताउनुहुन्छ । उहाँले यहाँ पुराना र कलात्मक घर, मन्दिर धेरैको लागि चासो र आकर्षण बन्ने निश्चित रहेको बताउनुभयो ।


