इटहरी स् सुनसरीका अलग(अलग स्थानमा मंगलबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको छ ।

दुहबी नगरपालिका–११ स्थित सिमरबना पुलको भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा सुनसरीको गढी गाउँपालिका–२ का ५५ वर्षीय प्रकाशलाल थान्दारको मृत्यु भएको हो । शुक्रबारेबाट नहरतर्फ जाँदै गरेको बा ७५ प ३११० नम्बरको मोटरसाइकल मंगलबार साँझ करिब ७ः१० बजे दुर्घटनामा परेको थियो । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार मोटरसाइकलसहित चालक थान्दार सिमरबना पुलबाट करिब १५ मिटर तल खसेका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको डीएसपी खड्काले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थान्दार रेडियो नेपालका प्राविधिक अधिकृत रहेको खुलेको छ । उनको साथबाट प्राविधिक अधिकृतको परिचयपत्रसमेत फेला परेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलिसकेको छैन । सडकमा ध्यान नदिँदा वा तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ । त्यस्तै, कोशी राजमार्गअन्तर्गत धरान उपमहानगरपालिका–८ स्थित गुराँस चोकमा मोटरसाइकलले सिटी सफारीलाई पछाडिबाट ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ८ प ३३३३ नम्बरको मोटरसाइकलले आफ्नै साइडमा रोकिराखिएको प्रदेश १–०२–००४ ह ३५०४ नम्बरको सिटी सफारीलाई मंगलबार दिउँसो करिब २ः४५ बजे पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ५५ वर्षीय राजेन्द्रप्रसाद घिमिरे गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा मंगलबार राति करिब ९ः४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको डीएसपी खड्काले बताए ।

दुर्घटनापछि प्रहरीले सिटी सफारी र त्यसका चालक धरान उपमहानगरपालिका–५ का ३८ वर्षीय रचन मगरलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।