इटहरी। विद्यालय तहको पढाइसँगै विद्यार्थीलाई अनुशासित, जिम्मेवार र असल नागरिकका रूपमा विकास गर्ने उद्देश्यले पूर्वी नेपालका विद्यालयमा राष्ट्रिय सेवा दल ९एनसिसी० तालिम सञ्चालन हुँदै आएको छ । नेपाली सेनाले राष्ट्रिय सेवा दलमार्फत कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई जुनियर र सिनियर डिभिजन अन्तर्गत तालिम दिँदै आएको हो । 

तालिममा विद्यार्थीलाई अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता, समय व्यवस्थापन, आत्मरक्षा, विपत् व्यवस्थापन तथा सामाजिक जिम्मेवारीलगायतका विषयमा व्यावहारिक ज्ञान र सिप प्रदान गरिँदै आएको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय केराबारी, मोरङका शिक्षा अधिकृत तथा प्रमुख सेनानी सुरेशकुमार श्रेष्ठले बताउनुभयो । नेपाल सरकारको नीति तथा मापदण्ड अनुसार सञ्चालन हुँदै आएको तालिमले विद्यार्थीको व्यक्तिगत विकाससँगै नेतृत्व क्षमता र सामूहिक रूपमा काम गर्ने सिप विकासमा सहयोग पुग्ने उहाँको भनाइ छ । श्रेष्ठले भन्नुभयो, “हामी विद्यार्थीलाई असल विद्यार्थी, असल सन्तान र असल नागरिकका रूपमा विकास गर्न चाहन्छौँ ।” मोरङको पूर्वी तालिम शिक्षालय अन्तर्गत कोशी प्रदेशका ४२, मधेश प्रदेशका नौ र बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्लाका तीन गरी ५४ वटा विद्यालयमा एनसिसी तालिम सञ्चालन भइरहेको छ । सम्बन्धित विद्यालयमै सञ्चालन हुने तालिमको निर्देशन, समन्वय तथा अनुगमन भने मोरङस्थित पूर्वी तालिम शिक्षालयले गर्दै आएको बताइएको छ । 

केराबारीस्थित पूर्वी तालिम शिक्षालयमा २०७३र७४ सालदेखि राष्ट्रिय सेवा दलको तालिम सञ्चालन हुँदै आएको छ । शिक्षालयबाट हालसम्म १५ हजार ३०६ जना विद्यार्थीले तालिम लिइसकेको पूर्वी तालिम शिक्षालयले जनाइएको छ । विद्यार्थीका लागि सञ्चालन गरिने तालिम सैनिक अभ्यास जस्तो देखिए पनि यसको उद्देश्य समाज र राष्ट्रप्रति बफादार तथा जिम्मेवार नागरिक बनाउने अभ्यासमा केन्द्रित रहेको बताइएको छ । तालिमले विद्यार्थीको व्यक्तित्व विकास, अनुशासन, नेतृत्व क्षमता, आत्मरक्षा र विपत्का समयमा आवश्यक व्यावहारिक सिप विकासमा जोड दिएको शिक्षा अधिकृत श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार तालिममा विद्यार्थीले ड्रिल, व्यायाम, तेक्वान्दो, एरोबिक्स, शारीरिक अभ्यास, प्राथमिक उपचार, विपत् व्यवस्थापन, आत्मरक्षा तथा विभिन्न सिर्जनात्मक गतिविधि गर्दै आएका छन् । ड्रिलमार्फत विद्यार्थीलाई आदेश सुन्ने, बुझ्ने र सही समयमा सही काम गर्ने अभ्यास गराइन्छ । तेक्वान्दो तथा आत्मरक्षाको अभ्यासले आफूलाई सुरक्षित राख्न सक्ने आत्मविश्वास बढाउँछ भने समूहमा गरिने विभिन्न गतिविधिले सहकार्य र नेतृत्व क्षमता विकास गर्छ । 

विपत् व्यवस्थापनसम्बन्धी तालिममा बाढीपहिरो, भूकम्पलगायतका आकस्मिक अवस्थामा अपनाउनुपर्ने सावधानी तथा आधारभूत उद्धारका विषयमा विद्यार्थीलाई जानकारी दिइन्छ । आकस्मिक अवस्थामा सुरक्षाकर्मी तथा उद्धारकर्मी पुग्नुअघि आफू र परिवारलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा समेत विद्यार्थीलाई अभ्यास गराइन्छ । उद्धार गर्नुअघि आफू सुरक्षित हुनु पर्छ । आफू सुरक्षित नभई अरूलाई उद्धार गर्न सकिँदैन भन्ने सिकाइन्छ । छनोटमा परेका विद्यालयबाट ३० जना विद्यार्थी तालिममा सहभागी हुने गरेका छन् । सहभागीमध्ये १५ जना छात्रा र १५ जना छात्र रहने व्यवस्था छ । 

नेपाली सेनाले राष्ट्रिय सेवा दल ९एनसिसी० तालिम देशभरका ७७ जिल्लामा सञ्चालन गर्दै आएको छ । देशभरका विभिन्न विद्यालयमा सञ्चालित तालिममा जुनियर र सिनियर डिभिजनतर्फ गरी सात हजार ७१० जना विद्यार्थी सहभागी रहेको बताइएको छ । पूर्वी क्षेत्रमा केराबारी, मोरङस्थित पूर्वी तालिम शिक्षालय, मध्यपूर्वी क्षेत्रमा महोत्तरीस्थित मध्यपूर्वी तालिम शिक्षालय, मध्य क्षेत्रमा नवलपरासीस्थित मध्य तालिम शिक्षालय र पश्चिम क्षेत्रमा बाँकेको कोहलपुरस्थित पश्चिम तालिम शिक्षालयमार्फत विद्यालय तहमा एनसिसी तालिम सञ्चालन हुँदै आएको छ । नेपालमा राष्ट्रिय सेवा दलको औपचारिक स्थापना २०२२ साल कात्तिक ७ गते भएको हो । युवामा अनुशासन, नेतृत्व, राष्ट्रप्रेम तथा सामाजिक जिम्मेवारी विकास गर्ने उद्देश्यले यसको सुरुवात गरिएको बताइएको छ । राष्ट्रिय सेवा दलसम्बन्धी कानुनी व्यवस्थालाई राष्ट्रिय सेवा दल ऐन, २०२७ मार्फत व्यवस्थित गरिएको छ ।