इटहरी। झापामा लागूऔषध कारोबार तथा ओसारपसारविरुद्ध प्रहरीले कारबाही तीव्र बनाएको छ। पछिल्ला तीन दिनमा जिल्लाका विभिन्न स्थानबाट ब्राउनसुगरसहित पाँच जना पक्राउ परेका छन्।

अर्जुनधारा, झापा गाउँपालिका र मेचीनगरका विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा प्रहरीले लागूऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो। अर्जुनधारा नगरपालिका–७ स्थित वडा कार्यालय छेउबाट प्रहरीले लागूऔषध बिक्री गरिरहेको अवस्थामा अटो चालकलाई पक्राउ गरेको छ। शनिबार दिउँसो १२ः३० बजे मे १ ह २४४३ नम्बरको पहेँलो अटोमा लागूऔषध बिक्री गरिरहेको अवस्थामा अर्जुनधारा–७ का ३३ वर्षीय सागर दर्जी पक्राउ परेका हुन्। गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा काँकरभिट्टा र प्रहरी चौकी शनिश्चरेबाट प्रहरी वरिष्ठ नायब निरीक्षक हिमाल पोखरेलको कमाण्डमा खटिएको टोलीले दर्जीलाई पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ। यता, दक्षिणी सीमावर्ती झापा गाउँपालिकामा भारतबाट नेपालतर्फ लागूऔषध ल्याउने क्रममा एक युवक पक्राउ परेका छन्। झापा गाउँपालिका–५, सिमलडाँगीस्थित हुलाकी राजमार्गबाट शनिबार दिउँसो ४ः२० बजे २५ वर्षीय प्रेमप्रसाद खनाल पक्राउ परेका हुन्।

झापा गाउँपालिका–६ शरणामति बस्ने खनाललाई प्रहरी चौकी शरणामति र सशस्त्र प्रहरी बल, बीओपी पन्तापाराबाट खटिएको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो। प्रहरी सहायक निरीक्षक तीर्थबहादुर भण्डारी र सशस्त्र प्रहरी निरीक्षक घनबहादुर रावलको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका खनाललाई शंका लागेर जाँच गरेको थियो। जाँचका क्रममा खनालले बायाँ हातको मुठ्ठीमा कालो प्लास्टिकको पोको बनाएर लुकाइछिपाइ ल्याएको अवस्थामा प्लास्टिकसहित ८ ग्राम ७२० मिलिग्राम र प्लास्टिकबाहेक ६ ग्राम ३६० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको छ। झापा गाउँपालिकामा लागूऔषधसहित पक्राउ पर्ने खनाल पछिल्लो घटनाका मात्रै होइनन्। त्यसअघि पनि सो क्षेत्रमा लगातार लागूऔषधसहित व्यक्ति पक्राउ पर्दै आएका छन्। शुक्रबार झापा गाउँपालिका–५ क्षेत्रबाट बिर्तामोड नगरपालिका–२ का २५ वर्षीय सनम शेर्मा ४ ग्राम ३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका थिए।

त्यसैगरी शुक्रबार राति झापा गाउँपालिका–३, कत्लामारीबाट शिवसताक्षी नगरपालिका–२ का ४० वर्षीय जीवन रसाईली पक्राउ परेका थिए। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका रसाईलीलाई प्रहरी चौकी टाघनडुब्बाबाट प्रहरी सहायक निरीक्षक कृष्ण गिरीको कमाण्डमा खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको थियो। उनको साथबाट कालो प्लास्टिकमा लुकाइछिपाइ ल्याइएको ०।४६ मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। त्यसको अघिल्लो राति बाह्रदशी गाउँपालिका–७ का २७ वर्षीय सन्तोष क्षेत्री पनि १ ग्राम २६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका थिए।

यस्तै, मेचीनगर नगरपालिका–६ बाट पनि लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–१३ का २३ वर्षीय विवेक राजवंशीलाई ३ ग्राम ७१० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो। जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रसँगै पूर्वी नाकातर्फ समेत लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि प्रहरीले निगरानी बढाएको जनाएको छ। पछिल्ला घटनामा विशेषगरी भारतबाट नेपालतर्फ पैदलमार्फत ब्राउनसुगर भित्र्याउने प्रयास तथा स्थानीय क्षेत्रमा यसको कारोबार गर्ने गतिविधि प्रहरीको निगरानीमा परेको देखिएको छ।