इटहरी स् नेपाल निर्माण व्यवसायी संघ धनकुटाको अध्यक्षमा ओमबहादुर बस्नेत ‘रमेश’ निर्वाचित भएका छन्। महालक्ष्मी कन्स्ट्रक्सनका सञ्चालक बस्नेतले ४८ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका हुन्।
अध्यक्ष पदमा बस्नेतका प्रतिस्पर्धी एवाई कन्स्ट्रक्सनका सञ्चालक यज्ञबहादुर राईले ३३ मत प्राप्त गरे। संघको प्रथम उपाध्यक्षमा ४९ मतसहित दिलकुमार राई निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी मनोजकुमार राईले ३३ मत पाए। द्वितीय उपाध्यक्षमा शरण तामाङ निर्वाचित भएका छन्। महासचिवमा बलबहादुर राई निर्विरोध निर्वाचित हुँदा सचिवमा चन्द्रसिंह लिम्बु र कोषाध्यक्षमा सुवास राई चयन भएका छन्। सह–कोषाध्यक्षमा दिनेश राई निर्विरोध निर्वाचित भएका हुन्। सदस्यतर्फ अविनाश श्रेष्ठ, विष्णु पौडेल, राजकुमार कार्की, लक्ष्मण विश्वकर्मा, सुवन श्रेष्ठ, सुवास तामाङ र सुन्दर तामाङ निर्विरोध निर्वाचित भएका छन्।
नेपाल निर्माण व्यवसायी संघ धनकुटाको १८औँ वार्षिक साधारणसभा तथा ११औँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो। अधिवेशनले निर्माण व्यवसायीका हकहित संरक्षण, व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या समाधान तथा निर्माण क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा पहल गर्ने जिम्मेवारी नयाँ कार्यसमितिलाई दिएको छ। नयाँ नेतृत्वसमक्ष निर्माण व्यवसायीले भोग्दै आएका व्यावसायिक समस्या, निर्माण कार्यमा देखिएका चुनौती तथा व्यवसाय सञ्चालनलाई सहज बनाउने विषयमा सम्बन्धित निकायसँग समन्वय गर्ने जिम्मेवारीसमेत रहनेछ।


