इटहरी । सुनसरी–मोरङ औद्योगिक कोरिडोरका छ अक्सिजन उद्योग बन्द भएका छन् । ती उद्योग बन्द हुँदा स्वास्थ्य संस्था र अन्य औद्योगिक उपभोक्ता प्रभावित भएका छन् ।
कोरोना सङ्क्रमणले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेका बेला सुनसरी–मोरङ औद्योगिक कोरिडोरका छ वटा अक्सिजन उद्योग पूर्ण क्षमतामा सञ्चालन भएका थिए । देशभरमा अक्सिजनको माग बढ्दा उत्पादन क्षमता वृद्धि गरेर आपूर्ति प्रणाली सहज बनाइएको थियो । तर कोरिडोरमा सबैभन्दा ठुलो क्षमताको विनायक अक्सिजन उद्योग सञ्चालन गर्दै आएका पवन शारडाका अनुसार अभावको व्यवस्थापन गर्न सक्ने क्षमता भएका कोरिडोरका उद्योग अहिले नराम्रोसँग असजिलोमा परिरहेका छन् । जसका कारण अहिले अक्सिजन अभावको स्थिति आएको छ । उहाँका अनुसार कोरोना सङ्क्रमणका बेला नेपाली सेनामार्फत देशभर अक्सिजन पठाएका उद्योगमा सरकारको नीति बाधक बनेको हो ।
मोरङ–सुनसरीमा बाबा अक्सिजन, विनायक अक्सिजन, मारुती र भागवती–भाजुरत्न, दुर्गा र हिमाल अक्सिजन उद्योग छन् । जसमध्ये दैनिक पाँच सय सिलिन्डर उत्पादन क्षमताको विनायक १५ दिनयता बन्द छ । त्यसबाहेक बाबा अक्सिजनसमेत बन्द छ । यसको दैनिक चार सय सिलिन्डरसम्म उत्पादन क्षमता रहेको छ । धेरै उत्पादन दिने दुई वटा उद्योग बन्द हुँदा त्यसको असर स्वास्थ्यदेखि औद्योगिक क्षेत्रसम्म परिरहेको छ । उद्योगी शारडाका अनुसार अक्सिजन उत्पादन गरेर बिक्री गर्दा घाटा हुन्छ । त्यसमा पनि अहिले उद्योगका मुख्य मेसिनरी तथा एसी बिग्रिएर बन्द गर्नु परेको हो । उहाँका अनुसार लिक्विड अक्सिजन प्लान्ट लगाउन सरकारले छुट दिएपछि पुराना उद्योग नराम्रोमा फसिरहेका छन् । लिक्विड आयात गर्दा भन्सार लाग्दैन । त्यो सहजै सिलिन्डरमा रिफिल गरेर प्रयोगमा आउँछ तर अक्सिजन उद्योगका हकमा भने त्यो अवस्था नरहेको उहाँले बताउनुभयो ।
यहीबेला अर्को उद्योग भागवत–भाजुरत्नले समेत सामान बिग्रिएको भनेर उद्योग बन्द गरिदिएपछि झन् समस्या परेको स्वास्थ्य संस्थाले गुनासो गरेका छन् । विराटनगरमा दुई मेडिकल कलेज तथा शिक्षण अस्पताल, विशेषज्ञ सेवा प्रदान गर्ने ठुला अस्पतालमा दैनिक पाँच सयदेखि छ सयसम्म सिलिन्डर खपत हुने गरेका छन् । त्यसबाहेक अन्य अस्पतालसमेतमा अक्सिजनको माग उतिकै छ । औद्योगिक क्षेत्रमा समेत अक्सिजन प्रयोग हुन्छ । कोभिड सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि नै सरकारले सय शøयाका अस्पताललाई अक्सिजन प्लान्ट राख्नुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो । धेरै अस्पतालले यो व्यवस्थाको सदुपयोग पनि गरेका छन् । प्लान्ट तथा उपकरणको आयातमा भन्सार छुटसहित लिक्विड अक्सिजन प्लान्ट र अक्सिजन प्लान्ट स्थापना गर्ने उद्योगलाई आधार दरमै ऋणसमेत उपलब्ध गराएको थियो ।
अस्पतालहरू लिक्विड प्लान्ट लगाएपछि उद्योगहरूले उत्पादन कटौती गर्दै आएका थिए । ठुलो लगानीको उद्योग दैनिक ८ देखि १२ घण्टा मात्रै सञ्चालन गर्दा घाटा हुने भएकाले उत्पादन रोकिएपछि अभावसमेत सिर्जना भएको छ । भदौ १८ गते अक्सिजन अभावको विषयलाई लिएर स्थानीय प्रशासनले उद्योगीसँग छलफल गरेको थियो । त्यसक्रममा अस्पतालका सञ्चालक, उद्योगी, नेपाल विद्युत् प्राधिकरण र बाँकी सरोकारवाला निकायलाई डाकिएको थियो । बैठकमा विराटनगरका उद्योग सञ्चालनमा नआउँदासम्म जनकपुर, झापा र इटहरीबाट अक्सिजन आयात गर्ने सहमति गरिएको थियो । त्यसै गरी प्राविधिक कारण देखाउँदै बन्द भएका बाबा अक्सिजन र विनायक अक्सिजन प्लान्टलाई सञ्चालनमा ल्याउनका लागि सहजीकरण गर्ने भनिएको थियो ।
विनायक अक्सिजनका सञ्चालक एवं उद्योगी शारडाले केही कुरा समाधान भएसँगै अब दुई दिनपछिदेखि पुनः अक्सिजन उत्पादन थाल्ने बताउनुभयो तर अक्सिजन उद्योग सञ्चालन गर्न सहज अवस्था नभएको उहाँले बताउनुभयो । अस्पतालबाहेक अक्सिजन प्रयोग हुने क्षेत्र ठुलो छ । औद्योगिक प्रयोजनका लागि समेत अक्सिजन प्रयोग हुन्छ । मोरङमा स्थानीय प्रशासनले अस्पतालबाहेक औद्योगिक प्रयोजनका लागि अक्सिजन बिक्री वितरण भने तत्काललाई रोकेको छ ।


