इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सर्वश्रेष्ठ खेलाडी बन्दै अनुकेस शेर्माले मोटरसाइकल पुरस्कार पाउनुभएको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा पाँचथरको फिदिम स्पोर्टिङ क्लबका शेर्मा सर्वश्रेष्ठ खेलाडी बन्दै बजाज कम्पनीको मोटरसाइकल प्राप्त गर्नुभएको हो ।

फिदिम स्पोर्टिङ क्लबका कप्तानसमेत रहनुभएका शेर्मा ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभएको हो । प्रतियोगिताको विभिन्न खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै सर्वश्रेष्ठ खेलाडी बन्नुभएका शेर्मालाई मोटरसाइकल पुरस्कार प्रदान गरिएको लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । मोटरसाइकल पुरस्कार प्राप्त गर्नुभएको सर्वश्रेष्ठ खेलाडी शेर्मालाई प्रतिनिधिसभा सदस्य क्षितिज थेबे र आयोजक समितिका अध्यक्ष मादेनले मोटरसाइकलको चावी हस्तान्तरण गर्नुभयो । बजाज कम्पनीका प्रतिनिधिसमेतको उपस्थितिमा शेर्मालाई मोटरसाइकल प्रदान गरिएको हो ।

यता शेर्माको कम्तानीमा प्रतियोगितामा सहभागी भएको फिदिम स्पोर्टिङ क्लब यसवर्ष पहिलोपटक फाइनलमा पुगेको थियो । फिदिम फाइनलमा पुगे पनि सिराहाको सलहेस युवा क्लबसँग पराजय बेहोर्दै उपाधि जित्नबाट भने असफल बनेको छ । यसअघिका ताप्लेजुङ गोल्डकप प्रतियोगितामा पाँचथर सेमिफाइनल चरणभन्दा अघि बढ्न सकेको थिएन । त्यस्तै प्रतियोगिताको फाइनल खेलमा सलहेस युवा क्लबका सनिस श्रेष्ठ म्यान अफ दि म्याच बन्नुभएको थियो । सलहेसकै दीप कार्की उत्कृष्ट गोलरक्षक, अविसेक लिम्बू उत्कृष्ट डिफेन्डर र अवि लामा उत्कृष्ट मिडफिल्डर बन्नुभयो ।

सलहेसकै फागुराम थारु प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडी बन्नभयो । त्यस्तै फिदिमका हिटेन सुहाङ उत्कृष्ट फर्वाड बन्नुभयो । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीले भने जनही १५ हजार रुपियाँका दरले नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । लाखेजात्रा पर्वको अवसरमा आयोजित प्रतियोगिता भदौ १२ गते सुरु भएर शुक्रबार सम्पन्न भएको हो ।