इटहरी। ‘रेड पाण्डा म्याराथन २०२६’ को तेस्रो संस्करण सोलुखुम्बुको सल्लेरीमा आयोजना हुने भएको छ । दुर्लभ वन्यजन्तु रेड पाण्डाको दीर्घकालीन संरक्षण र बासस्थान पुनर्गठनका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी भदौ २० गते म्याराथन आयोजना गर्न लागिएको हो ।

स्थानीय साझेदार संस्था हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा सोलुखुम्बुका अध्यक्ष ङिमा तेण्डुप शेर्पाका अनुसार रेड पाण्डा नेटवर्कको आयोजना र ‘प्ले फर नेचर’को मुख्य आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । यसले पर्यटकीय जिल्ला सोलुखुम्बुको तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत पुर्‍याउने लक्ष्य राखिएको छ । हिमाली वातावरण र अमूल्य प्राकृतिक सम्पदाको संरक्षणबारे नयाँ पुस्तामा जिम्मेवारीबोध गराउन यस्ता खेलकुद कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय रेड पाण्डा दिवसका अवसरमा आयोजना हुने उक्त म्याराथन सल्लेरीस्थित दुई हजार ३६० मिटर उचाइमा रहेको थेकछेन पेमा छोलिङ गुम्बाबाट सुरु भई चार हजार ५४ मिटर उचाइको पिके पिकसम्म पुगेर पुनः सोही स्थानमा फर्कने छ । कुल ४८ किलोमिटर लम्बाइ र दुई हजार ८७२ मिटरभन्दा बढी उचाइ हुने यो ट्रेललाई अन्तर्राष्ट्रिय ट्रेल रनिङ एसोसिएसनले ३ पोइन्ट प्रदान गरेको छ । अनुभवी ट्रेल धावकहरूका लागि कठिन मानिएको यो कोर्स सात घण्टा ३० मिनेटभित्र पूरा गर्नुपर्ने समयसीमा तोकिएको छ । यस वर्षको म्याराथनमा पहिलो पटक पाँच किलोमिटर लामो ‘रेड पाण्डा फन रन’ पनि समावेश गरिएको छ । थेकछेन पेमा छोलिङ गुम्बाबाट सुरु भई सल्लेरीको सेर्गा खोप हुँदै फाप्लु गुम्बा पुगेर टुङ्गिने यो दौड सबै उमेर र क्षमताका सहभागीका लागि खुला रहने छ । विशेष गरी स्थानीय समुदायको सहभागितालाई प्रोत्साहन गर्न ल्याइएको यस फन रनमा प्रख्यात अभिनेता तथा रेड पाण्डा नेटवर्कका संरक्षण दूत (अम्बेसडर) दयाहाङ राईको समेत उपस्थिति रहने अध्यक्ष शेर्पाले बताउनुभयो । इच्छुक धावकहरूले संस्थाको आधिकारिक वेबसाइटमार्फत अनिवार्य रूपमा दर्ता गराउनुपर्ने छ ।

म्याराथनका विजेता महिला तथा पुरुष धावकहरूलाई छुट्टाछुट्टै नगद पुरस्कार, पदक र प्रमाणपत्रको व्यवस्था गरिएको छ । ४८ किलोमिटर म्याराथनतर्फ पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः एक लाख ५० हजार रुपियाँ, एक लाख रुपियाँ, ५० हजार रुपियाँ र ३० हजार रुपियाँ प्रदान गरिने छ । त्यस्तै, ‘फरेस्ट गार्डियन’ विधाका उत्कृष्ट तीनलाई २५ हजार रुपियाँ, २० हजार रुपियाँ र १० हजार रुपियाँ तथा पाँच किलोमिटर फन रनका शीर्ष चार विजेतालाई २५ हजार रुपियाँ, २० हजार रुपियाँ, १० हजार रुपियाँ र पाँच हजार रुपियाँ पुरस्कार तोकिएको छ । दौड पूरा गर्ने सबै धावकलाई फिनिसर पदक प्रदान गरिने छ। यसअघि सन् २०२४ मा ताप्लेजुङको पाथीभरा र सन् २०२५ मा इलाममा सम्पन्न दुई संस्करणमा नेपालका १६ भन्दा बढी जिल्लाका साथै भारत र जापानका गरी १४० धावकले सहभागिता जनाएका थिए । वनमा मानिसहरूले नदेखेका धेरै अमूल्य प्राकृतिक सम्पदाहरू रहेको र रेड पाण्डा तिनैमध्ये एक भएको बताउँदै यस्ता कार्यक्रमले स्थानीय प्राकृतिक सम्पदालाई नजिकबाट बुझ्न र यसको संरक्षण गर्नु वर्तमान तथा भावी पुस्ताको साझा जिम्मेवारी हो भन्ने कुरा सम्झाउन मद्दत पुर्‍याउने अध्यक्ष शेर्पाको भनाइ छ ।