इटहरी। पाँचथरका गाउँघरमा बाँदरले बाली नष्ट गर्न थालेपछि खेतबारी जोगाउन कुकुर पाल्ने चलन बढेको छ । बाली र घरको सुरक्षाका लागि पालिएका कुकुर रेबिज संक्रमणको जोखिममा पर्न थालेपछि गाउँघरमा नयाँ चुनौती थपिएको छ ।
बाँदर धपाउन तथा बाली जोगाउन विशेषगरी वनजङ्गल छेउका गाउँमा कुकुर पाल्ने चलन बढेको हो । कतिपयले सौखले नभई बाध्यताले दुई–तीनवटासम्म कुकुर पाल्ने गरेका छन् । बाली जोगाउने क्रममा कुकुरलाई छाडा छाड्नुपर्ने अवस्था हुने भएकाले अन्य कुकुर तथा रेबिज संक्रमित जङ्गली जनावरको सम्पर्कमा पुग्ने जोखिमसमेत बढेको छ । रेबिजको प्रकोप बढेपछि फिदिम नगरपालिकाले भने कुकुरलाई धमाधम भ्याक्सिन दिने अभियान सञ्चालन गरिरहेको छ । संक्रमित भएर लक्षण देखिन थालेपछि उपचार सम्भव नहुने भयानक रोग रेबिज रोकथामका लागि नगरपालिकाले विभिन्न स्थानमा शिविर सञ्चालन गरी कुकुरलाई भ्याक्सिन दिन थालेको हो । नगरपालिकाले फिदिम नगरपालिका–१ को बजार क्षेत्र, वडा २ को हेलिप्याड र वडा ४ को गढीमा शिविर सञ्चालन गरिसकेको छ। भ्याक्सिन अभियानमा पशुप्राविधिक र नगरप्रहरी संलग्न छन्। हालसम्म करिब डेढ सय कुकुरलाई भ्याक्सिन लगाइसकिएको नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाका पशु सेवा प्राविधिक नारायणकुमार थापाले बताउनुभयो। पाँच दिनअघि सुरु गरिएको खोप शिविर शुक्रबार वडा ४ को थापाटारमा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ। भ्याक्सिन अभियान केही दिनसम्म निरन्तर सञ्चालन गरिने बताइएको छ । ठाउँ–ठाउँमा शिविर सञ्चालन भइरहे पनि धेरै कुकुर खोपको पहुँचबाट बाहिर रहेका छन् ।
विशेषगरी घरधनीको सम्पर्कमा नआउने तथा छाडा रहेका कुकुरलाई नियन्त्रणमा लिएर भ्याक्सिन दिन कठिन भइरहेको छ । संक्रमित हुन सक्ने यस्ता कुकुरलाई खोप लगाउन नसक्दा रेबिजको जोखिम कायमै रहेको पशु सेवा प्राविधिक थापाले बताउनुभयो। उहाँका अनुसार रेबिज जुनसुकै मौसम र समयमा फैलन सक्ने भएकाले भ्याक्सिन अभियान सञ्चालन भइरहे पनि यसबाट पूर्ण रूपमा ढुक्क हुने अवस्था छैन । उहाँले भ्याक्सिन लगाउन छुटेका कुकुरलाई नियन्त्रणमा लिएर खोपका लागि नगरपालिकामा ल्याउन स्थानीयवासीलाई आग्रह गर्नुभएको छ । रेबिजविरुद्धको खोप प्रदान गर्न सात सय डोज भ्याक्सिनसहित आवश्यक जनशक्ति र साधनस्रोत पर्याप्त रहेको नगरपालिकाले जनाएको छ। रेबिज प्रकोप नियन्त्रण अभियानमा आम नागरिक र जनप्रतिनिधिको पनि सक्रियता देखिएको छ । शिविर सञ्चालनका क्रममा कुकुर छाडा नछाड्न र बाँधेर राख्न वडा २ का वडाध्यक्ष दिननाथ अधिकारीले नागरिकलाई आग्रह गर्नुभएको छ ।
अहिले पाँचथरको फिदिम नगरपालिकासहित हिलिहाङ र फाल्गुनन्द गाउँपालिकामा समेत रेबिज संक्रमण फैलिएको छ । रेबिजका कारण धेरै गाई, भैँसी र कुकुर मरेका छन् । रेबिज संक्रमित कुकुरले केही व्यक्तिलाई समेत टोकेको अवस्था छ । रेबिज संक्रमणको जोखिम सबैलाई रहे पनि संक्रमित कुकुरबाट जोगिन कठिन हुने भएकाले वृद्धवृद्धा तथा बालबालिका अझ बढी जोखिममा पर्ने गरेका छन् । रेबिज संक्रमित जङ्गली जनावर स्याल, फ्याउरो आदिको सम्पर्कमा पुगेका कुकुरबाट गाउँघरका पशुचौपायादेखि मानिससम्म यो रोग फैलिन सक्ने बताइएको छ । बाँदरको आतङ्कबाट बाली जोगाउन कुकुर पाल्नुपर्ने बाध्यता र अर्कोतर्फ त्यही कुकुरबाट रेबिज फैलिन सक्ने जोखिमले गाउँघरमा दोहोरो चुनौती सिर्जना गरेको छ । बाली सुरक्षाका लागि पालिएका कुकुरलाई नियमित खोप लगाउने, छाडा नछाड्ने तथा शङ्कास्पद कुकुरलाई नियन्त्रणमा राख्ने विषयमा स्थानीय तह र समुदायबीच थप समन्वय आवश्यक देखिएको छ ।बाली जोगाउन पालिएको कुकुर नै घरपरिवार र समुदायका लागि जोखिमको कारण नबनोस् भन्नेतर्फ समयमै सचेत हुनुपर्ने अवस्था देखिएको छ ।

