इटहरी । शिक्षा, स्वास्थ्य, खेलकुद र सामाजिक सेवाः हाम्रो प्रतिबद्धता, हाम्रो पहिचान’ भन्ने नाराका साथ गछिया युवा समाजले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ ।
संस्थाले सुन्दरहरैँचा–५ स्थित श्रीलाल आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई ब्याग, कापी तथा पेन्सिल लगायतका शैक्षिक सामग्री वितरण गरेको हो। गछिया युवा समाजका अध्यक्ष सरोज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुन्दरहरैँचा–५ का वडाध्यक्ष गणेश चौधरी प्रमुख अतिथि हुनुहुन्थ्यो। प्रमुख अतिथि चौधरीले बालबालिकाको शिक्षामा गरिने सहयोग समाज विकासको मूल आधार भएको बताउनुभयो। कार्यक्रममा सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश थापाले शैक्षिक लगानीले सक्षम पुस्ता निर्माणमा मद्दत पुग्ने धारणा राख्नुभयो।
विद्यालयका प्रधानाध्यापक दलमर्दन तिवारीले विपन्न विद्यार्थीका लागि यस्तो सहयोगले अध्ययनमा हौसला मिल्ने भन्दै आयोजकप्रति आभार व्यक्त गर्नुभयो। अध्यक्ष सरोज दाहालले संस्थाको स्थापना दिवसलाई सामाजिक सेवासँग जोड्दै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा थप कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो। सामग्री पाएपछि विद्यार्थी तथा अभिभावकहरू उत्साहित बनेका छन्।


