इटहरी । पछिल्लो समय धार्मिक तथा सामुदायिक सद्भावमा चुनौती देखिन थालेका बेला युवाको भूमिका र जिम्मेवारीबारे बहस आवश्यक रहेको सन्देशसहित मोरङको सुन्दरहरैंचामा नगरस्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पहिलो पाइला नेपाल सुन्दरहरैंचा शाखाले बुधबार आयोजना गरेको प्रतियोगितामा ‘धार्मिक सहिष्णुता र सामाजिक सद्भाव प्रवद्र्धनमा युवा विद्यार्थीको भूमिका’ विषयमा विद्यार्थीहरूले आफ्ना धारणा प्रस्तुत गरेका थिए । प्रतियोगितामा साजिलाल माध्यमिक विद्यालयकी समृद्धि लुईटेल प्रथम , सुकुना माध्यमिक विद्यालयकी रेमीका चौधरी द्वितीय, टेन्टरफिट बोर्डिङ स्कुलकी प्रशंसा भण्डारी तृतीय तथा माउण्ट मकालुकी सोनिका सुवेदी सान्त्वना हुनुभएको छ ।

प्रतियोगी शरण परियारलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको पहिलो पाइला नेपाल सुन्दरहरैंचा शाखाका अध्यक्ष केवल लुईटेलले जानकारी दिनुभयो । प्रतियोगितामा सुन्दरहरैंचाका विभिन्न माध्यमिक विद्यालयबाट ३७ जना विद्यार्थी सहभागी भएका थिए । पछिल्लो समय देशका विभिन्न क्षेत्रमा धार्मिक तथा सामुदायिक तनावका घटना सार्वजनिक भइरहेका बेला युवालाई सहिष्णुता, संवाद र सामाजिक एकताको पक्षमा उभ्याउने उद्देश्यले प्रतियोगिताको विषय छनोट गरिएको आयोजकले जनाएको छ। कार्यक्रमका प्रमुख अतिथि युवा समाजसेवी टेकमणि न्यौपानेले पहिलो पाइला नेपालले युवाको सिर्जनात्मक क्षमता विकाससँगै सामाजिक उत्तरदायित्वका विषयमा कार्यक्रम सञ्चालन गर्नु प्रशंसनीय रहेको बताउनुभयो ।

उहाँले युवा समाज परिवर्तनका महत्वपूर्ण संवाहक भएकाले धार्मिक तथा सामाजिक विषयमा सकारात्मक सोच विकास गराउन विद्यालय तहबाटै यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । वक्तृत्वकला प्रतियोगितामा लेखक तथा पत्रकार रामप्रसाद खरेल र नेपाली शिक्षक तोयानाथ भट्टराई निर्णायकका रूपमा रहनुभएको थियो । आयोजकका अनुसार प्रतियोगिता मार्फत विद्यार्थीलाई वक्तृत्वकला तथा नेतृत्व विकासमा प्रोत्साहित गर्नुका साथै धार्मिक विविधता बीच सहिष्णुता, पारस्परिक सम्मान र सामाजिक सद्भावको आवश्यकता बुझाउने प्रयास गरिएको हो।