इटहरी । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर विराटनगरमा मानिसलाई एउटा खुला पुस्तकका रूपमा अध्ययन गर्ने उद्देश्यले ‘चिया सँग कथा ः एक मानव पुस्तकालय अनुभव’ कार्यक्रम सम्पन्न भएको छ।
गोल्स फाउन्डेसनको आयोजना तथा एनवाईसिए विराटनगर र इन्जिनियर्स विदाउट बोर्डर्स नेपाल, पूर्वाञ्चल विश्वविद्यालय शाखाको सहकार्यमा एलिट क्लबमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा वातावरण पत्रकार डा. रामचन्द्र अधिकारीले वातावरण पत्रकारिताका आयाम र तथ्यपरक समाचार लेखनका अनुभव साट्नुभएको थियो । यस्तै, साहित्यकार सीमा आभासले महिलाका रूपमा भोगेका सामाजिक चुनौती र व्यक्तिगत संघर्षबारे चर्चा गर्नुभयो।
त्यसैगरी पत्रकार तथा साहित्यिक व्यक्तित्व अनन्तराज न्यौपानेले आफ्ना जीवनयात्रा, संघर्ष, सिकाइ र अनुभवहरू सहभागीहरूसँग साझा गर्नुभएको थियो । ‘मानव पुस्तकको रूपमा प्रस्तुत भएका वक्ताहरूले आफ्ना अनुभव, सफलता र सिकाइका कथा प्रस्तुत गरेपछि सहभागीहरूसँग प्रत्यक्ष संवाद तथा प्रश्नोत्तर गरिएको थियो। ज्ञान केवल पुस्तकमा मात्र सीमित नभई मानिसका जीवन अनुभवभित्र पनि उत्तिकै समृद्ध हुने सन्देश दिँदै कार्यक्रम सम्पन्न भएको थियो ।


