इटहरी । सुनसरीको गढी गाउँपालिकामा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ ।
बुधबार बिहान गढी गाउँपालिका–४ मेहता टोलस्थित भित्री सडकखण्डमा छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको स्कुल बसले बाटोको साइडमा बसिरहेकी स्थानीय गुगलीदेवी महतोलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार बिहान करिब ८ः२० बजे चिमडीस्थित बर्जु लेक आर्डडीयल इङ्लिस स्कुलको को १ ख ३३९१ नम्बरको बसले ठक्कर दिँदा गढी–४ निवासी गुगलीदेवी गम्भीर घाइते भएकी थिइन् ।दुर्घटनापछि उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरिएको थियो । उपचारकै क्रममा बिहान १०ः२४ बजे उनको मृत्यु भएको सुनसरी प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
प्रहरीका अनुसार दुर्घटनाका बेला उक्त बसमा विद्यार्थी भने थिएनन् । दुर्घटनामा संलग्न बस र चालक बर्जु गाउँपालिका–६ का २२ वर्षीय सुदीप सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक शिवराम थापाको नेतृत्वमा रहेको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


