इटहरी। प्रदर्शनका क्रममा ज्यान गुमाएका रवीन्द्र मेहताको शव हेलिकोप्टरमार्फत बुधबार बिहान सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज ल्याइएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा राखिएको उनको शव बिहान करिब १०ः२० बजे कप्तानगन्ज ल्याइएको हो।शवलाई सुरुमा मृतकको घरमा लगेर परिवार, आफन्त तथा स्थानीयले श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसपछि गाउँमा शवयात्रा निकालिएको छ। स्थानीय समाजसेवी अमरेश मेहताका अनुसार हरिनगर र देवानगन्ज क्षेत्रमा शवयात्रा गराइँदै छ। रवीन्द्रको अन्त्येष्टि गोली चलेको स्थानमै गर्ने तयारी गरिएको छ। साँझसम्ममा दाहसंस्कार गरिसक्ने तयारी रहेको मेहताले बताए। गत साउन १० गते देवानगन्ज–३ कप्तानगन्जमा दुई पक्षबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर रवीन्द्र घाइते भएका थिए। गम्भीर घाइते उनलाई थप उपचारका लागि काठमाडौं लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको थियो।

सहिद घोषणा र दोषीलाई कारबाहीको माग गर्दै आफन्तले शव बुझ्न अस्वीकार गरेपछि उनको शव केही समयदेखि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको थियो। सरकारले देवानगन्ज र सिरहामा भएका झडपमा ज्यान गुमाएका चार जनालाई सहिद घोषणा गरेपछि रवीन्द्रको शव परिवारले बुझेका हुन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले देवानगन्जका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्र मेहता तथा सिरहाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो। यसअघि गृहमन्त्री र पीडित पक्षबीच सोमबार सात बुँदे सहमति भएको थियो। सहमतिअनुसार मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने र परिवारका एक–एक सदस्यलाई रोजगारीको अवसर दिने व्यवस्था गरिएको छ।

देवानगन्ज गाउँपालिकाका अध्यक्ष बेचन मेहताका अनुसार रोजगारीका लागि सम्बन्धित परिवारका सदस्यको नाम सरकारलाई बुझाइसकिएको छ। सरकारले सहिद घोषणा गरेपछि पीडित पक्षले गर्दै आएको आन्दोलनसमेत स्थगित भएको छ।