धनकुटा । धनकुटामा प्रहरीले विभिन्न समयमा बरामद गरेको १ हजार ५२१ केजी अवैध लागूऔषध गाँजा जलाएर नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाले बुधबार धनकुटा नगरपालिका–९, मुलघाटस्थित तमोर नदी किनारमा उक्त गाँजा जलाएर नष्ट गरेको हो। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार विभिन्न समयमा बरामद गरिएको १ हजार ५२१ केजी गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिएको हो। जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहतका प्रहरी कार्यालयले विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेका थिए। प्रहरीले बरामद गरिएको गाँजा सुरक्षित रूपमा राखी आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि जलाएर नष्ट गरेको जनाएको छ। यस्तै, प्रहरीले जिल्लामा बरामद गरेको प्रतिबन्धित लागूऔषध ट्रामाडोल, डाइसाइक्लोमिन हाइड्रोक्लोराइड र डाइसाइक्लोमिन एचसीआई–आईपी गरी १ हजार ८९७ थान ट्याब्लेटसमेत जलाएर नष्ट गरेको छ।

विभिन्न समयमा प्रतिबन्धित लागूऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई उनीहरूबाट बरामद गरिएको गाँजा तथा प्रतिबन्धित लागूऔषध नष्ट गरिएको डीएसपी भण्डारीले जानकारी दिए। प्रहरीले गत साउन २१ गते कोशी लोकमार्गअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार चोकमा धनकुटाबाट विराटनगरतर्फ जाँदै गरेको ना.३ ख ५०९५ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा ६४७ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको थियो। यस्तै, गत साउन १६ गते साँगुरीगढी गाउँपालिका–४ स्थित जनता आवासका लागि निर्माण गरिएको खाली घरभित्र ४० वटा बोरामा भण्डारण गरिएको ८०४ केजी गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। यीसहित विभिन्न समयमा बरामद गरिएको १ हजार ५२१ केजी गाँजा जलाएर नष्ट गरिएको प्रहरीले जनाएको छ। पछिल्लो समय धनकुटामा गाँजा ओसारपसारमा संलग्न व्यक्तिसहित गाँजा तथा प्रतिबन्धित लागूऔषध नियन्त्रणमा लिने क्रम बढेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।