मोरङ। मोरङको लेटाङ नगरपालिका–२, बुधबारेस्थित भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते हुनु भएकी ८३ वर्षीया कौशिलादेवी खतिवडाको मृत्यु भएको छ।

लेटाङ २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाका अनुसार गत साउन २५ गते बिहान करिब १०ः३० बेलबारीबाट लेटाङतर्फ जाँदै गरेको मे १ च २२८२ नम्बरको म्याजिक गाडीले बाटो काट्दै गरेको प्र.१–०२–००४ ह ७८८० नम्बरको सिटी सफारीलाई ठक्कर दिएको थियो । म्याजिकको ठक्करबाट सिटी सफारीमा सवार कौशिलादेवी खतिवडाको टाउकोमा गम्भीर चोट लागेको थियो । उहाँलाई उपचारका लागि विराटनगरस्थित आर्या न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचाररत खतिवडाको मङ्गलबार राति २ बजे घरमै निधन भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।  उहाँलाई २६ गते घर ल्याइएको थियो ।

दुर्घटनामा संलग्न म्याजिक चालक लेटाङ नगरपालिका–३ बस्ने ५० वर्षीय दिलकुमार राईलाई इलाका प्रहरी कार्यालय, लेटाङले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान तथा आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।