इटहरी । विराटनगर महानगरपालिका वडा नं। ४ स्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि र मोरङको बुढीगंगा गाउँपालिकाबीच स्वास्थ्य उपचार सुविधामा सहजीकरण गर्ने उद्देश्यले सम्झौता भएको छ ।
यस सम्झौताअनुसार गाउँपालिकाबाट सिफारिस भई अस्पताल पुग्ने बिरामीहरूले उपचार खर्चमा छुट तथा थप सुविधा पाउने भएका छन्। कोशी प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा, चिकित्सा, नर्सिङ तथा डेन्टलजस्ता क्षेत्रमा शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थामा आबद्ध व्यक्तिलाई पहिलेदेखि नै उपचारमा सहुलियत दिँदै आएको र सोही क्रममा बुढीगंगा गाउँपालिकाभित्र बसोबास गर्ने नागरिक र पालिका अस्पताल÷स्वास्थ्य चौकीबाट थप उपचारका लागि सिफारिस भई आउने बिरामीलाई पनि यही सुविधा उपलब्ध गराउन यो सम्झौता गरिएको नोबेलका महाप्रबन्धक दिपेश राईले बताएका छन् । सम्झौता अनुसार बुढीगंगा गाउँपालिकामा बसोबास गर्ने र स्वास्थ्य बिमा गरेका बासिन्दा बिरामी उपचारका लागि नोबेल अस्पताल आउँदा नेपाल सरकारद्वारा सञ्चालित विभिन्न स्वास्थ्य उपचार सेवा , जस्तै स्वास्थ्य बिमा, आमा सुरक्षा, विपन्न नागरिक औषधि उपचार कोष लगायत अन्य योजना पूर्ण रूपमा उपयोग गरिसकेपछिको अवस्थामा थप उपचार खर्चमा भर्ना शुल्कसहितका सेवाहरूमा २० प्रतिशत छुट पाउनेछन्।
यो सुविधा हाल स्वास्थ्य बिमामा आबद्ध नभएका वा बिमा क्रियाशील नहुँदै अगाडिको समयावधिका बिरामीलाई पनि उपलब्ध हुने उल्लेख छ । छुट पाउनका लागि बिरामीले पालिका अध्यक्ष वा निजले तोकेको पदाधिकारीको सिफारिस, आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपि तथा १६ वर्षमुनिका बालबालिकाको हकमा जन्मदर्ताको प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ। साथै, कोशी प्रदेशका अन्य पालिकाबाट सिफारिस भई आउने बिरामीलाई पनि यही सुविधा प्रदान गरिने भए पनि यसरी आउने बिरामीको हकमा उक्त अस्पतालमा जाँच गराएको कागजात र थप उपचारका लागि रेफर गरिएको उल्लेख हुनुपर्ने सर्त राखिएको छ। सम्झौताले प्रत्यक्ष स्वास्थ्य उपचारसँग सम्बन्धित सेवामा मात्र छुट लागू हुने प्रस्ट पारेको छ। आइभीएफ, प्लास्टिक सर्जरी, कस्मेटिक सर्जरीजस्ता सेवा, केबिनमा बसेर गरिने उपचार र औषधि तथा चिकित्साजन्य सामग्रीहरू ९इम्प्लान्ट, सर्जिकल सामग्री, उपभोग्य सामग्री० मा भने यो छुट सुविधा लागू हुनेछैन।
यही साउन २५ गतेदेखि लागू भएको यो सम्झौता २०८४ साल असार मसान्तसम्म एक वर्षका लागि कायम रहनेछ। दुवै पक्षको आपसी सहमतिमा सम्झौताका बुँदाहरू परिमार्जन गर्न वा सम्झौतालाई निरन्तरता दिन सकिने व्यवस्थासमेत राखिएको छ। आकस्मिक अवस्थामा सहयोगका लागि बिलिङ काउन्टर, हस्पिटालिटी विभाग, जनसम्पर्क अधिकृत तथा ड्युटी अधिकृतका सम्पर्क नम्बरहरू सार्वजनिक गरिएका छन्। सम्झौताले बुढीगंगा गाउँपालिकाका बासिन्दालाई विशेषतः स्वास्थ्य बिमामा आबद्ध बिरामीहरूलाई गुणस्तरीय उपचार सेवामा आर्थिक भार केही हदसम्म कम गर्न मद्दत पु¥याउने अपेक्षा गरिएको बुढीगंगा गाउँपालिका अध्यक्ष जित नारायण थापा मगरले बताएका छन् ।


