इटहरी । गत साउन ४ गते सुनसरी–मोरङ औद्योगिक कोरिडोर अन्तर्गत स्वस्तिक आयल इन्डस्ट्रिजका ४० कन्टेनर सामान लिएर कन्टेनर कार्गो रेल नेपाल भन्सारक्षेत्र (एनसिवाई) आएको थियो । त्यसको २० दिनपछि अर्को कन्टेनर कार्गो रेल पनि सोही क्षेत्रका लागि कोलकाता बन्दरगाहबाट छुटेको छ । एनसिवाई विराटनगरमा हेन्डलिङ, अनलोड तथा ढुवानीको जोरजाम चलिरहेको छ ।  तेस्रो मुलुकबाट पैठारी भएका सामान बोकेर दोस्रो कार्गो रेल आइरहेको भए पनि सुनसरी–मोरङ औद्योगिक कोरिडोरका धेरै उद्योगीले भने भारतीय भन्सारक्षेत्र (इन्डियन कस्टम यार्ड, आइसिवाई) मा गराइरहेका छन् । जबकि कार्गो रेल सञ्चालनको माग सबैभन्दा धेरै मोरङ–सुनसरीका उद्योगी व्यवसायीले उठाउँदै आएका थिए ।  नेपाल उद्योग परिसङ्घ कोशीका अध्यक्ष पवन शारडाका अनुसार दुवै भन्सारक्षेत्रका बिचको दुरी नजिक छ तर सञ्चालन शुल्कमा धेरै अन्तर छ । पाँच सय मिटरको दुरीमा रहेका भन्सारक्षेत्र जहाँबाट सामान झारे पनि ढुवानीदेखि भण्डारणसम्म समस्या छैन ।  अध्यक्ष शारडाका अनुसार आइसिपीको व्यवस्थापन गर्दै आएको ट्रान्स नेपाल टिआएस लोजीपार्कले मनलाग्दी शुल्क तोकेर उद्योगीलाई कस्न खोज्दा समस्या भएको छ । बारम्बार छलफलका लागि गरिएको आग्रहलाई अस्वीकार गर्दै आएकाले उद्योगीले भारतीय क्षेत्र नै प्रयोग गर्ने तयारी गरिरहेका हुन् । सरकारले तोकेको शुल्कबाहेक अन्य विभिन्न शीर्षकमा रकम असुल्ने गरेको आरोपसमेत रहेको छ । 

नेपाल भन्सारक्षेत्रबाट मालवस्तु आयात गर्दा भारतीय क्षेत्रको तुलनामा प्रतिटन ६४ देखि दुई सय रुपियाँसम्म अन्तर रहने दाबी गरिएको छ । कन्टेनर कार्गोबाहेक लुज कार्गो, ब्रेक कार्गो, बल्क कार्गो, ब्यागेज कार्गोको अर्डर अहिलेसम्म रेलमार्फत ढुवानीका लागि नहुनुको कारण पनि यही भएको बताइएको छ । स्पन्ज आइरन, एमएस वायर रड र एचआर सिटको आयात गर्दा कार्गो ह्यान्डलिङ र ढुवानीमा पर्ने अन्तर रहेको अध्यक्ष शारडाले दाबी गर्नुभयो ।  त्यस्तै जिआई वायर, गेभियन बक्सलगायतका सामग्रीको मुख्य कच्चा पदार्थ एमएस वायर रड भारतीय क्षेत्रबाट ल्याउँदा नेपाली क्षेत्रको तुलनामा प्रतिमेट्रिक टन १६८ रुपियाँ सस्तो पर्ने देखिएको छ । भारतीय क्षेत्रबाट एमएस वायर रड ल्याउँदा प्रतिटनको लोडिङ–अनलोडिङ र २५ किमीसम्मको ढुवानी खर्च ४४० रुपियाँ तोकिएको छ । यसबाहेक भारतीय क्षेत्रमा टनको ३२ रुपियाँ पार्किङ शुल्क छ । यसरी लोडअनलोड, ढुवानी र पार्किङ खर्च गरेर प्रतिटन ४७२ रुपियाँको खर्च पर्ने छ ।  भारतीय क्षेत्रबाट एमएस वायर रड ल्याउँदा प्रतिटनको लोडिङ–अनलोडिङको चार सय र ढुवानी खर्च २४० गरी ६४० रुपियाँ तोकिएको दाबी गरिएको छ । भारतीयबाट ४७२ र नेपाली क्षेत्रबाट ६४० खर्च हुँदा प्रतिटनको १६८ रुपियाँ अन्तर हुने शारडा बताउनुहुन्छ ।  एक ¥याकमा कम्तीमा २६ सय टन एमएस वायर रड आउँछ । भारतीय क्षेत्रबाट ल्याउँदा प्रतिटन १६८ का हिसाबले एक ¥याक एमएस वायर रडमा चार लाख ३६ हजार आठ सय रुपियाँ सस्तो पर्छ । त्यसैले नेपाली भन्सारक्षेत्रबाट आयात हुन नसकेको हो । यो प्रायः सबै सामानमा लागु हुन्छ ।  नेपालको भन्सारक्षेत्रमा रेल कार्गो ल्याएर मालवस्तुको ह्यान्डलिङ र ढुवानी गर्ने कार्यको शुल्क तथा दररेट नेपाल इन्टरमोडल यातायात विकास कम्पनीले निर्धारण गरेको थियो । उद्योगीले सरकारले समितिलाई आइसिपीको व्यवस्थापकीय पक्षको जिम्मा दिएकाले निजी क्षेत्रसँगको सहकार्यबिना नै दररेट तोकिएकोमा चिन्ता गरेका छन् । 

विराटनगरस्थित आइसिपी व्यवस्थापन गर्ने जिम्मेवारी ट्रान्स नेपाल फ्रेट सर्भिसेज कम्पनीलाई दिइएको थियो । अहिले योसँगै टिआरएस लोजीपार्कसमेत भेन्चरमा जोडिएको छ । त्यसैले ट्रान्स नेपाल टिआरएस लोजीपार्क कम्पनीले अहिले कार्गो व्यवस्थापन गर्दै आएको छ ।यसका व्यवस्थापक लक्ष्मी सुब्बाले भने ह्यान्डलिङ शुल्कको गुनासो लिएर कुनै उद्योगी अहिलेसम्म नआएको दाबी गर्नुभयो । उहाँले नेपाल सरकारले तोकेको शुल्क आइसिपीको व्यवस्थापन हेर्दै आएको कम्पनीसँग बढी भयो भनेर नहुने बताउनुभयो । नेपाल इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक तथा प्रवक्ता हरिकृष्ण मिश्रले पहिलो कार्गो रेल उद्घाटनपछि विराटनगरमा निजी क्षेत्रसँग गरेको छलफलबाटै दररेट निर्धारण गरिएको दाबी गनुभयो । उहाँले पहिले कार्गो रेल सञ्चालनमा आउनु सबैभन्दा ठुलो उपलब्धि भएकाले ह्यान्डलिङ तथा व्यवस्थापकीय पक्षमा भएका कतिपय गुनासा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत हल खोज्न निजी क्षेत्रसँग आग्रह गर्नुभयो । 

सडक र कार्गो ढुवानीमा फरक

विराटनगरको आइसिपीस्थित भन्सार कार्यालयमा मालवस्तुका ट्रक र लरीसहित दैनिक तीन सय वटा ढुवानीका साधन आइपुग्छन् । तीमध्ये ८० प्रतिशतले भारत र बाँकी २० प्रतिशतले तेस्रो मुलुकका मालवस्तु ढुवानी गरेका हुन्छन् । कोलकाताबाट विराटनगरसम्म सडकमार्गबाट मालवस्तु ल्याउँदा प्रतिकिलो भारु तीनदेखि चारसम्म ढुवानी खर्च पर्ने हुन्छ । एक ट्रकमा १५ टनको आधार मान्दा ढुवानी खर्च भारु ४५ देखि ६० हजार हुन्छ । यता यही मालवस्तु रेलमार्गबाट आयात गर्ने हो भने ढुवानी खर्चमा ३५ प्रतिशतले बचत हुन्छ ।  यस हिसाबले १५ टन मालवस्तु कोलकाताबाट कार्गो रेलमा विराटनगर ल्याउँदा भारु २९ हजार २५० देखि ३९ हजारसम्ममा आइपुग्छ । यस हेर्दा १५ हजार ७५० देखि २१ हजारसम्मको बचत हुने देखिन्छ । नेपाली भन्सारक्षेत्रमा आउने कार्गो रेल भारतीय भन्सारक्षेत्रको प्रव्रिmया पु¥याएर मात्रै आउँछ । त्यहाँका भन्सार क्लियरेन्स गरेपछि नेपाली भन्सारक्षेत्रमा सामान झार्न आउने हो । भारतीय भन्सार र नेपाल भन्सारनजिक रहेका कारण कार्गो रेलमै ढुवानी हुने सामानको ह्यान्डलिङ शुल्क किन बढी बुझाउने ? भनेर उद्योगीले अल्छी गरिरहेका हुन् ।  उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठी भने नेपाल सरकारले गर्नुपर्ने सहजीकरणको पक्षमा निजी क्षेत्र आशावादी रहेको बताउनुहुन्छ । उहाँ पूर्वका उद्योगीका लागि कार्गो रेल सुनौलो उपहार भएकाले एनसिवाईमै मालवस्तु ह्यान्डलिङ गर्नुपर्ने दायित्वलाई व्रmमशः पूरा गर्दै लैजाने बताउनुहुन्छ ।