पाँचथर। पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बाका एक व्यक्ति श्रीमतीलाई धारिलो हतियार प्रहार गरी फरार भएको केही समयपछि जंगलमा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बाका ५० वर्षीय चन्द्रबहादुर तामाङ सोमबार जंगलमा मृत भेटिनुभएो हो । तामाङले आपसी विवादका क्रममा ४७ वर्षीया श्रीमती शुशिला तामाङलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएपछि फरार भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले बताउनुभयो ।
स्थानीयले घटनाबारे जानकारी दिएलगत्तै प्रहरी चौकी दुर्दिम्बाबाट खटिएको प्रहरी टोलीले घाइते शुशिलाको उद्धार गरी उपचारका लागि धरान पठाएको थियो । त्यसपछि स्थानीयको सहयोगमा चन्द्रबहादुरको खोजी गरिएको प्रहरीले जनाएको छ । खोजी गर्ने क्रममा तामाङको शव मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बास्थित आफ्नै घरनजिकैको जंगलमा फेला परेको हो । तामाङले पत्नी शुशिलालाई हत्या गर्ने मनसायले गर्धन र कान आसपास धारिलो खुकुरी प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ । तामाङलाई रुखको हाँगामा झुन्डिएको अवस्थामा मृत फेला पारिएकाले घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रनाउ कर्णले बताउनुभयो ।


