इटहरी।  झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने सडक (फाल्गुनन्द मार्ग) मा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।  भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका लागि रोक लगाइएको माङसेबुङ गाउँपालिकाका कार्यवाहक अध्यक्ष विनोदकुमार नेम्बाङले बताउनुभयो ।  अविरल वर्षाका कारण माङसेबुङ गाउँपालिका क्षेत्रमा सडकका विभिन्न स्थानमा क्षति पुगेपछि यातायात सञ्चालन जोखिमपूर्ण बनेको छ । क्षतिग्रस्त सडकको मर्मतसम्भार तथा पुनःस्थापनाको काम भइरहेकाले सडकलाई सुरक्षित र व्यवस्थित बनाउन मालवाहक सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको अध्यक्ष नेम्बाङले बताउनुभयो । 

वर्षाका कारण सडक क्षतिग्रस्त भएपछि दैनिक आवतजावत गर्ने दर्जनौँ मालवाहक सवारीसाधनका कारण विभिन्न स्थानमा जाम हुन थालेको छ । मर्मतसम्भारको काम नसकिएसम्म यात्रुवाहक सवारीसाधनको आवतजावत सहज बनाउन मालवाहक सवारीमा रोक लगाइएको अध्यक्ष नेम्बाङले बताउनुभयो ।  दमक–चिसोपानी सडक निर्माण सुरु भएको तीनदशक बितिसक्दा पनि पूर्ण रूपमा निर्माण हुन सकेको छैन । हिउँदमा धुलो र वर्षायाममा हिलोका कारण यातायात तथा जनजीवन प्रभावित हुँदै आएको छ । सडक कालोपत्र नभएका कारण वर्षायाममा दमकदेखि चिसोपानीसम्म यात्रा गर्न कठिन हुने गरेको छ । सो सडकले सडक झापा र इलामलाई जोड्छ । झापा, इलाम र पाँचथरका हजारौँ नागरिकले आवतजावत गर्नुका साथै कृषि उत्पादन बजारसम्म लैजान यही सडक प्रयोग गर्दै आएका छन् । सडक निर्माणमा भएको ढिलाइप्रति स्थानीयवासी असन्तुष्ट छन् ।