धरान । लागूऔषध मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ।  धरान उपमहानगरपालिका–५ का ३५ वर्षीय हिमाल विश्वकर्मालाई आज बिहान करिब ११:१५ बजे अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो।  उच्च अदालत विराटनगर, धनकुटा इजलासको २०८२ माघ १० गतेको फैसला मुद्दा नं. ०८२–सीएस–०११३ अनुसार विश्वकर्मालाई लागूऔषध मुद्दामा पाँच वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सजाय सुनाइएको थियो। सजाय भुक्तान गर्न बाँकी रहेपछि उनी फरार रहेका थिए।

विशेष खोजतलासका क्रममा पक्राउ परेका विश्वकर्मालाई हाल इलाका प्रहरी कार्यालय धरानमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।  प्रहरीका अनुसार उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सजाय कार्यान्वयनका लागि उच्च अदालत विराटनगर, धनकुटा इजलासमा पठाउने तयारी भइरहेको छ।