इटहरी। सुनसरीमा हालै भएको घटनापछि जिल्लाको शान्ति–सुरक्षा अवस्था, घाइतेहरूको उपचार तथा पीडित परिवारलाई राहत उपलब्ध गराउने विषयमा मङ्गलबार अपराह्न उच्चस्तरीय छलफल सम्पन्न भएको छ।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का संसदीय दलका उपनेता गणेश पराजुली, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, सुनसरी–३ का प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा सरकारका सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो। बैठकमा घटनापछिको समग्र अवस्थाको समीक्षा गर्दै जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भावलाई थप सुदृढ बनाउने रणनीतिबारे विस्तृत छलफल भएको प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीले जानकारी दिनुभयो।छलफलका क्रममा घटनामा घाइते भएका सबैको उपचार खर्च सरकारले व्यहोर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने तथा प्रभावित परिवारलाई आवश्यक राहत र सहयोग सुनिश्चित गर्ने विषयमा सहमति भएको जनाइएको छ।
त्यस्तै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउने तथा कानुनी प्रक्रियालाई निष्पक्ष र द्रुत रूपमा अघि बढाउने विषयमा पनि जोड दिइएको थियो। यसअघि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासहितको टोलीले अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो। टोलीले उपचारमा संलग्न चिकित्सकसँग उपचारको प्रगति र आवश्यक स्वास्थ्य सेवाबारे छलफल गरेको थियो। सो क्रममा मन्त्री मेहताले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने तथा आवश्यक सबै स्वास्थ्य सेवा र सरकारी सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सरकारका प्रतिनिधि, सुरक्षा निकाय र जनप्रतिनिधिबीच भएको यस समन्वयात्मक छलफललाई सुनसरीमा शान्ति–सुरक्षा सुदृढ बनाउने, प्रभावित परिवारलाई राहत उपलब्ध गराउने तथा जिल्लामा सामान्य अवस्था पुनःस्थापित गर्ने दिशामा महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ।


