इटहरी । मोरङका केही क्रसर उद्योगले राजस्व हिनामिना गरेको आशङ्कामा सुरु भएको अनुसन्धान दुई महिना बितिसक्दा पनि निष्कर्षमा पुग्न सकेको छैन । जसका कारण पूर्वपश्चिम राजमार्ग विस्तार कार्य प्रभावित भएको छ ।
राजमार्ग निर्माणका लागि निर्माण सामग्रीका रूपमा अस्फाल्टलगायत गिट्टी, ढुङ्गा आदि नदीजन्य पदार्थ आपूर्ति गर्दै आएका क्रसर उद्योग नै सरकारी छानबिनको दायरामा परेका थिए । छानबिनका लागि ती उद्योगमा ताला बन्द गरिएका कारण राजमार्गको पूर्व तथा पश्चिम खण्डमा कालोपत्रे गर्न तयारी अवस्थामा रहेको सडकको काम अगाडि बढ्न नसकेको हो । जिल्ला अनुगमन समितिले क्रसर उद्योग अनुगमन गरी जफत गरेर ल्याएको विवरणका आधारमा राजस्व हिनामिना भएको हुन सक्ने भन्दै जिल्ला समन्वय समितिले आन्तरिक राजस्व कार्यालय विराटनगर र दमकलाई अनुसन्धान गरिदिन आग्रह गरेको थियो । दुई महिना बितिसक्दा पनि अनुसन्धान भने सकिएको छैन ।
अनुगमनका क्रममा लेटाङ–३ स्थित ओम श्री क्रसर उद्योग एन्ड सप्लायर्स र माँ भगवती स्टोन मिल्स, बेलबारीको कान्तिपुर वासिङका बारेमा आन्तरिक राजस्व कार्यालय विराटनगरले अनुसन्धान गरिरहेको छ भने मिक्लाजुङको देवीथान कङ्व्रिmट उद्योग र श्री सिआरएफजी–टुन्डी जेभीले सञ्चालन गरेको अस्थायी क्रसरमाथि पनि अनुसन्धान गर्न आन्तरिक राजस्व कार्यालय दमलाई लेखिपठाएको जिल्ला समन्वय अधिकारी जानुका न्यौपानेले जानकारी दिनुभयो । राजमार्गका लागि निर्माण सामग्री उपलब्ध गराउने तीन क्रसर उद्योग नै अनुसन्धानमा तानिएका कारण निर्माण सामग्री अभाव भएको हो । जसले गर्दा राजमार्गको पश्चिम खण्डको काम पूर्णतः प्रभावित भएको छ भने पूर्वी खण्डमा पनि मौज्दात रहेको सामग्री सकिँदै गएपछि निर्माण व्यवसायी चिन्तित बनेका छन् । पूर्वी खण्ड ९झापा तर्फ० का आयोजना प्रमुख सुनीलबाबु पन्तका अनुसार हालसम्म ४५ किलोमिटर सडकमध्ये १८ किलोमिटर २५० मिटर सडक कालोपत्रे भइसकेको छ, जसमा १२।५ किलोमिटर सडक पूर्ण चौडाइमा सम्पन्न भएको छ ।
मोरङ र सुनसरीतर्फ राजमार्गको पश्चिम खण्डमा झन्डै १५ किलोमिटर सडक कालोपत्रे गर्न तयारी अवस्था रहेको निर्माण कम्पनीका प्रतिनिधि उज्ज्वल प्रसाईले जानकारी दिनुभयो । निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनका प्रतिनिधि उज्ज्वल प्रसाईले क्रसर बन्द हुँदा नयाँ सामग्री पाउन नसकिएको र पुरानो मौज्दातले धेरै दिन नधान्ने गुनासो गर्नुभयो । उहाँले मोरङ खण्डमा मात्र नभई झापा खण्डमा पनि समस्या उस्तै रहेको र गिट्टी अभावकै कारण अस्फाल्टको काम सुरु गर्न नसकिएको बताउनुभयो । प्रसाईका अनुसार असार मसान्तको चाप र वर्षाका कारण पनि केही ढिलाइ भएकोमा अहिले क्रसरको समस्याले कामलाई झनै पछाडि धकेलेको छ । निर्माण व्यवसायीले गिट्टीको अभावसँगै अन्तर्राष्ट्रिय बजारमा बिटुमिनको मूल्यमा भएको भारी वृद्धिले पनि थप लगानी गर्न र कामलाई अघि बढाउन हतोत्साहित भएको बताएका छन् । बिटुमिन नपाएकोभन्दा पनि यसको मूल्य अत्यधिक बढेका कारण ठेकेदारले खरिदमा ढिलाइ गरिरहेका छन् ।
राजमार्ग आयोजनाले निर्माण प्रभावित हुन नदिन जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र स्थानीय तहलाई पत्राचार गरी समन्वय र सहयोगका लागि पटक पटक आग्रह गरेको छ तर तीन महिना पुग्न लाग्दासम्म कुनै पनि निकायबाट निर्माण सामग्रीको सहज आपूर्तिका लागि ठोस पहल भएको छैन । आयोजना प्रमुख पन्तले सरकारी निकायबिच समन्वयका लागि पत्र पठाएको र अब जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र स्थानीय तहहरूले निकास दिने गरी सहयोग गर्नुपर्ने बताउनुभयो । आन्तरिक राजस्व कार्यालय विराटनगरले भने कामको चापका कारण अनुसन्धानमा ढिलाइ भएको तर्क गरेको छ ।
कार्यालयका कर अधिकृतका अनुसार साउन लागेसँगै पान नम्बर दर्ता गर्न हजारौँ भूमिहीन सुकुमवासीको भिड लागेका कारण सबै जनशक्ति त्यही काममा जुट्न परेकाले अरू कुनै पनि काममा ध्यान दिन नसकिएको हो । कार्यालयले क्रसर उद्योगहरूको अनुसन्धान टुङ्गिन एक महिना लाग्न सक्ने जानकारी दिएको छ ।


