इटहरी  । ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा एक हजारभन्दा बढी विदेशी पर्यटक भ्रमणमा आएका छन् । पछिल्लो एक वर्षको अवधि अर्थात् गत आर्थिक वर्षमा एक हजारभन्दा बढी विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका हुन् । 

कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत प्रमोदकुमार यादवका अनुसार गत आव २०८२÷८३ मा कुल एक हजार ३३१ विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका छन् । उक्त सङ्ख्यामध्ये ७९ जना सार्क राष्ट्रका पर्यटक रहेका छन् भने अन्य विदेशी पर्यटक एक २५२ जना कञ्चनजङ्घा क्षेत्रको भ्रमण अएका संरक्षण अधिकृत यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार सार्क राष्ट्रका ११ महिला र ६८ पुरुष रहेका छन् । सार्क राष्ट्रबाहेक अन्य विदेशी पर्यटकमा ८१३ पुरुष र ४३९ महिला रहेका छन् । गत आवमा ४८ पुरुष र एक महिला गरी ४९ जना नेपालीले समेत कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । संरक्षण अधिकृत यादवका अनुुसार गत आवमा सबैभन्दा कात्तिकमा ६०७ विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन् । यस्तै सार्क राष्ट्रसहित विदेशी र नेपाली गरी गत आवको भदौमा १५, असोजमा २९३, मङ्सिरमा ७८, चैतमा १४३, वैशाखमा २०४ र जेठमा ४० पर्यटकले कञ्चनजङ्घा क्षेत्र भ्रमण गरेका छन् ।

साउन, पुस, माघ, फागुन र असारमा कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्न एक जना पनि पर्यटक नआएका संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । त्यस्तै अघिल्लो आव २०८१र८२ मा एक हजार ३८० पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका थिए । यता कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका पर्यटकबाट कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयले २७ लाख २८ हजार चार सय रुपियाँ भ्रमण शुल्कबापत राजस्व सङ्कलन गरेको छ । विदेशी पर्यटकबाट प्रतिव्यक्ति दुई हजार रुपियाँ, सार्क राष्ट्र पर्यटकबाट प्रतिव्यक्ति पाँच सय रुपियाँ र नेपालीबाट एक सय रुपियाँका दरले राजस्व सङ्कलन गरिएको संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । कार्यालयले संरक्षण क्षेत्रमा हेलिकोप्टर अवतरण गराएबापत एक लाख ८० हजार रुपियाँ राजस्व असुल गरेको छ । पर्यटकलाई भ्रमण सेवा प्रदान गर्न तथा उद्धारलगायतमा हेलिकोप्टरको प्रयोग गर्ने गरिएको र संरक्षण क्षेत्रभित्र हेलिकोप्टर अवतरण गराएमा एक पटकको तीन हजार रुपियाँ संरक्षण क्षेत्र कार्यालयले शुल्क असुल्ने गरेको जनाएको छ ।