इटहरी । विश्व मानव बेचबिखनविरोधी दिवसका अवसरमा नेपाल–भारत सीमा क्षेत्र काँकडभिट्टा–पानीट्यांकीमा मानव बेचबिखनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले मोटरसाइकल र्‍याली आयोजना गरिएको छ।

उपमहानिरीक्षक क्षेत्रीय मुख्यालय रानीडंगाको निर्देशनमा ४१औँ वाहिनी सशस्त्र सीमा बल ९एसएसबी० रानीडंगा र सेवा केन्द्र सिलिगुडीको संयुक्त आयोजनामा बुधबार र्‍याली सम्पन्न भएको हो। र्‍यालीको शुभारम्भ ४१औँ वाहिनी रानीडंगाका उप–कमाण्डेन्ट धीरज पवारले गरेका थिए।

सीमा क्षेत्रमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै दुई देशका सुरक्षा निकाय र सरोकारवालाबीच समन्वय सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।  र्‍यालीमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी निशेष चापागाई, सशस्त्र प्रहरी बलका डीएसपी विकास थापा, सेवा केन्द्र सिलिगुडीका निर्देशक फादर नरेश बेक, एड्भोकेसी अधिकृत तेजकुमार थापा, भारत–नेपाल मिडिया समन्वयक प्रशान्त आचार्य तथा बीएसएफको एन्टी ह्युमन ट्राफिकिङ युनिट ९एएचटीयू० राधाबारीका निरीक्षक दिलीप कुमारलगायतको सहभागिता रहेको थियो।

आयोजकका अनुसार मानव बेचबिखनविरुद्ध सचेतना अभिवृद्धि गर्दै सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा नेपाल र भारतका सम्बन्धित निकायबीच सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ।