इटहरी । होटल तथा पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्दै युवालाई रोजगारी र स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले इटहरीमा सञ्चालन गरिएको बारिस्टा तालिमले सहभागीहरूलाई सीप विकासमा सहयोग पु¥याएको छ ।
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको संयोजन तथा नेपाल पर्यटन बोर्ड र यूएनडीपीको दिगो पर्यटन परियोजनाको सहयोगमा सनसाइन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टमा तालिम सञ्चालन गरिएको हो । २१ दिने निःशुल्क तालिमका रूपमा सुरु गरिएको कार्यक्रम स्कुलले थप समय दिएर २५ दिन सम्म सञ्चालन गरेको थियो । असार १४ गतेदेखि सुरु भएको तालिममा ३० जना भन्दा बढी युवाको सहभागिता रहेको थियो । तालिममा सहभागीहरूलाई कफी तयारी, बारिस्टा सीप, ग्राहक सेवा तथा कफी व्यवसाय सञ्चालन सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । अनुभवी प्रशिक्षक मार्फत सञ्चालन गरिएको तालिममा व्यावहारिक अभ्यासमा विशेष जोड दिइएको थियो ।
सहभागीहरूले निःशुल्क रूपमा अन्तर्राष्ट्रिय स्तरको बारिस्टा सीप सिक्ने अवसर पाएको भन्दै यसले क्याफे, होटल तथा रेष्टुरेन्ट क्षेत्रमा रोजगारी प्राप्त गर्न तथा आफ्नै व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने बताएका छन् । उनीहरूले आधारभूत तालिमसँगै एडभान्स स्तरको तालिम समेत सञ्चालन गर्न आग्रह गरेका छन् । गुणस्तरीय सेवा प्रदान गर्न दक्ष बारिस्टाको आवश्यकता बढ्दै गएको भन्दै पर्यटन प्रवद्र्धनसँगै युवालाई रोजगारी र स्वरोजगारमा जोड्न तालिमले सहयोग पु¥याउने सनसाइन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टका सीईओ दिलीप पौडेलले बताउनुभयो । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले पछिल्लो समय कफी संस्कृति प्रति युवापुस्ताको आकर्षण बढ्दै गएको र विभिन्न स्थानमा कफी सपहरूको संख्या निरन्तर वृद्धि भइरहेकाले दक्ष जनशक्तिको आवश्यकता पनि बढ्दै गएको बताउनुभयो ।
तालिम सञ्चालनको अवस्था, सहभागीहरूको सिकाइ तथा प्रशिक्षणको प्रभावकारिताबारे जानकारी लिन जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका पदाधिकारीहरूले प्रशिक्षणस्थलको अवलोकन समेत गरेका थिए । अवलोकनका क्रममा पदाधिकारीहरूले सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै तालिमको गुणस्तर, सिकाइको स्तर र आगामी आवश्यकताबारे जानकारी लिएका थिए । तालिमको औपचारिक समापन कार्यक्रम भने अझै गर्न बाँकी रहेको आयोजकले जनाएको छ । युवालाई सीपसँग जोड्दै रोजगारी र स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमले पर्यटन क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


