इटहरी । मोरङको विराटचौकस्थित बुधबारे बजारमा नेपाली उत्पादनका जुत्ता चप्पल मात्र बिक्री गर्ने उदेश्यले ‘नेपाली जुत्ता घर’ सञ्चालनमा आएको छ ।
इटहरीमा शाखा सञ्चालनमा आएको चार महिना नपुग्दै व्यवसाय विस्तार गर्दै विराटचौकमा दोस्रो शाखा सञ्चालनमा ल्याइएको हो। जुत्ता घरका म्यानेजर सुमन भण्डारीका अनुसार नेपाली जुत्ता घरले गत असार २२ गतेदेखि प्रवद्र्धनात्मक रूपमा सेवा सुरु गरेको थियो भने साउन १ गतेदेखि औपचारिक रूपमा विक्री सुरु गरेको हो। उहाँका अनुसार विराटचौक शाखामा नेपालमै उत्पादन भएका ७ वटा ब्रान्डका जुत्ता चप्पल मात्र उपलब्ध छन्।
यहाँ रन सुज, फस्ट वाक सुज, बीएफ डियर हिल सुज, स्मार्ट सुज, सुल्याण्ड, गोल्डस्टार र क्यापिटल ब्रान्डका जुत्ता चप्पल बिक्रीका लागि राखिएका छन्। नेपाली जुत्ता घर इटहरीकी सञ्चालिका रोजिना पोखरेलले इटहरी शाखामा नेपाली उत्पादनका जुत्ता–चप्पल प्रति ग्राहकबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया पाएपछि विराटचौकमा पनि शाखा विस्तार गरिएको बताउनुभयो । उहाँका अनुसार शोरुममा १ हजार भन्दा बढी मोडलका जुत्ता–चप्पल उपलब्ध छन्।
१ सय रुपैयाँ देखि ४ हजार रुपैयाँसम्म मूल्यका जुत्ता चप्पल पाइने यस शोरुममा ग्राहकलाई १० देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । ‘नेपाली उत्पादन प्रयोग गरौँ’ भन्ने मूल नारासहित सञ्चालनमा आएको नेपाली जुत्ता घरले स्वदेशी जुत्ता–चप्पलको प्रवद्र्धन गर्दै नेपाली उद्योगलाई प्रोत्साहन गरिरहेको छ। यसले नेपाली उत्पादनलाई प्राथमिकता दिने सरकारको नीतिलाई समेत सघाउ पु¥याउने अपेक्षा गरिएको छ । व्यवस्थापनका अनुसार नेपाली जुत्ता घर विराटचौक शनिबार समेत नियमित रूपमा खुला रहनेछ ।


